धरान / सङ्खुवासभाका जीतु राई भारतीय खेलकुद जगतको सर्वोच्च सम्मान ‘राजीव गान्धी खेलरत्न’ द्वारा सम्मानित भएका छन् ।
भारतको राजधानी दिल्लीको राष्ट्रपति भवनमा अगस्त २९ मा आयोजित भव्य समारोहमा राष्ट्रपति प्रणव मुखर्जीले उक्त सम्मान प्रदान गरेका हुन् । सङ्खुवासभामा जन्मेर भारतलाई कर्मभूमि बनाइरहेका राई भारतीय सेनामा कार्यरत् छन् । सुटिङ खेलमा विश्वविजेता बनेका राई २०१४ मा विश्वको रेङ्किङमा समेत १ नम्बरमा रहेका थिए । उनी यसभन्दा अगाडिनै भारतीय खेलकुदको दोस्रो ठूलो पुरस्कार अर्जुन अवार्डद्वारा सम्मानित भइसकेको उनका प्रशिक्षक गर्वराज राईले जानकारी दिए । भर्खरै सम्पन्न रियो ओलम्पिकमा जीतुले पदक प्राप्त गर्न नसकेपनि उनको राम्रो प्रदर्शन र विगत तीन वर्षयताको खेल प्रदर्शनलाई मध्यनजर गरी भारत सरकारले ‘राजीव गान्धी खेलरत्न’ बाट सम्मान गरेको हो । एशियन गेम्स, विश्व सुटिङ च्याम्पियनसीप लगायतका धेरै अन्तर्राष्ट्रिय खेलमा उनले अनेक स्वर्ण, रजत र कास्य पदक हासिल गरेका छन् । भारतीय खेल इतिहासमा ‘राजीव गान्धी खेलरत्न’ पाउने पहिलो गोर्खाली नेपाली जीतु राई बनेका छन् ।