विराटनगर/कोशी अञ्चल अस्पतालको ल्यावमा रगत परिक्षण हुन थालेको छ । रगत परिक्षण गर्ने उपकरण सिबिसि मेसिन बिग्रिएको महिना दिनसम्म मर्मत नहुँदा अस्पतालले २० लाख बढी आम्दानी गुमाएको समाचार ब्लाष्ट टाइम्समा प्रकाशित भएपछि अस्पतालले मेसिन मर्मत गरेको हो । सेवा प्रदायक संस्थाले विरामीहरुको रगत परिक्षण नगर्दा अस्पतालमा निजि संस्थाका दर्जनौं दलालहरुको प्रभाव बढेको थियो ।
समाचार प्रकाशन भएपछि अस्पताल प्रशासनले तत्काल पुरानो बाँकी बक्यौता भुक्तानी गरी मेसिन मर्मत गरेको हो । बुधबारबाट मेसिन संचालनमा आएको र सबै परिक्षण सुचारु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले बताउनुभयो । सिबिसि मेसिनबाट रगतको जेनेरल प्रकृतिका सबै परिक्षण गरिन्छ । हेमोग्लोविन, प्लेटलेट, डब्ल्युबिसि, आरबिसि लगायत अनेकौं जाँच सोही मेसिनबाट गरिने हुँदा मेसिन बिग्रिएपछि अस्पताल अस्तव्यस्त नै बनेको थियो ।
अस्पतालको ल्याव संचालनमा ल्याउन डाक्टर सुधिर श्रेष्ठ लगायतले प्रयत्न गरेको थियो । तरपनि प्रशासनले सुनुवाई गरेको थिएन । सो विषय समाचारको रुपमा प्रकाशित भएपछि अस्पताल प्रशासनले तदारुकता देखाउँदै मेसिन ममर्त गरी तत्काल संचालनमा ल्याएको हो । ल्याव संचालनमा आएपछि दैनिक गुम्दै गएको ८० देखि ९० हजार रुपैंया आम्दानी सुचारु भएको छ । आफ्नो ल्याव संचालनमा आएपछि अस्पतालले बाहिरका ल्यावबाट गरिने परिक्षणलाई मान्यता नदिने जनाएको छ ।
कोशी अञ्चल अस्पतालमा दैनिक १ हजार ५ सय बिरामी उपचारकालागि आउने गरेका छन् । सस्तो तथा सरकारी सुविधा प्राप्त हुने भएकोले विराटनगरवासी तथा विभिन्न जिल्लाबाट उपचारकालागि अञ्चल अस्पतालमा आउने गरेका छन् ।