धरान/पूर्वाञ्चलस्तरीय गोटबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण असोजको दोस्रो सातादेखि धरानमा सुरु हुँदै छ ।
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगितामा यसपटक ८ वटा टिमहरु सहभागी हुँदै छन् । असोज ८ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल असोज १५ गते हुँने धरान भेट्रान फुटबल क्लवले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा दमक लखनपुर भेट्रान क्लव झापा, धरान मजदुर भेट्रान क्लव, राजघाट भेट्रान फुटबल क्लव, डाँगीहाट फुटबल क्लव मोरङ, विराटचौक भेट्रान फुटबल क्लव, चौधरी ढुवानी सेवा चाँदबेला, झुम्का, आयोजक धरान भेट्रान र युनाइटेड भेट्रान फुबटल क्लव मोरङ रहेका छन् ।
प्रतियोगितामा विजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, प्रमाण पत्र र मेडल हात पार्ने छन् भने उपविजेताले नगद ४० हजार रुपैयासहित ट्रफी, प्रमाण पत्र पाउने छन् । त्यस्तै हरेक खेलको म्यान अफ दि म्याचले २ हजार रुपैयासहित जर्सी प्राप्त गर्ने छ भने उत्कृष्ट गोलरक्षकले नगद ५ हजारसहित ट्रफी, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयासहित ट्रफी, उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयासहित ट्रफी प्राप्त गर्ने छन् ।
विजेता तथा उपविजेताको पुरस्कार राशी बढ्न सक्ने सम्भावनासमेत रहेको क्लवका अध्यक्ष रोमी मोक्तानले बताए । गोटबहादुरका छोरा किशोर राईले पिताको नाममा वार्षिक क्लवलाई २ लाख रुपैया उपलब्ध गराउँदै आइरहेको छ । पूर्व फुटबल खेलाडीसमेत रहेका राई हाल उनी अष्ट्रेलियामा बसोबास गर्छन् । यस अघिको पहिलो संस्करणमा धरान भेट्रान फुटबल क्लवले उपाधि उचालेको थियो भने सिएमजी उपविजेता बनेको थियो ।