काठमाडौँ / स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेँगु प्रभावितको सङ्ख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित नहुन आग्रह गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले डेँगु प्रभावितको सङ्ख्या बढेको जानकारी दिए । उनका अनुसार झापामा डेँगुबाट आइतबार ३४ जना मात्रै प्रभावित देखिएकामा सोमबारसम्म प्रभावितको सङ्ख्या १०० पुगेको छ । ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जानसमेत उनले सबैलाई अनुरोध गरे । उनले डेँगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन आग्रह गरे । झापा, चितवनलगायत केही जिल्लामा डेँगुको सङ्क्रमण पुष्टि हुनासाथ डेँगुविरुद्धको विशेष अभियान चलाइएको छ । महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा तीन, काठमाडौँ, रुपन्देही र कैलालीमा दुई÷दुई जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा एक÷एक जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको छ । डेँगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिए । रासस