nischalधरान / देशमा अनेकन संघर्ष गरेर विदेशी पढाइ र रोजगारीको सपना बोकेर एउटा युवा मुलुक छोड्छ । यस्तै लहडमा युवाहरु देश छाड्छन् । धेरैको बाध्यता पनि हुन्छ । अष्ट्रेलिया जाने, भविष्य सुन्दर बनाउने एउटा सपना बोकेको युवा त्यहाँ पुग्छ ।आकर्षक जिउडाल र हसिलो चेहरा । विस्तारै प्रगति पथमा लम्किरहेको उसको सपना । सबै विस्तारै राम्रो बन्दै जान्छ । जीवनका अनेक पाटाहरु मध्येको एउटा प्रेम हो । प्रेम प्राप्ति हुने सम्भावना देखेपछि विदेशिएको एउटा विद्यार्थी र मजदुरको मनमा पनि प्रेम भाव उब्जन्छ । प्राकृतिक कुरो, सबैको मन मायाको आत्मीयताको शोख हुन्छ । मानवीय स्वभाव हो, काम, क्रोध, लोभ, मोह । जीवनका सबै पाटाहरु सफल बन्दैनन् वा हुँदैनन् । माया, प्रेम, धोका, इष्र्या मानिसको जीवनमा अवश्य आउँछ । यस्तै संघर्षरत एउटा युवाको संघर्ष, प्रेम र धोकालाई कथावस्तु बनाएर ठूलो बजेटमा निर्माण हुन लागेको म्युजिक भिडियो नेपाली दर्शकहरुले चाँडै हेर्न पाउने भएका छन् । नेपाली ८ लाखको बजेटमा निर्माण हुन लागेको ‘बिर्सन सक्दिन’ बोलको गीतको म्युजिक भिडियो सम्पादनको क्रममा रहेको छ । अष्ट्रेलियामा सूचना प्रविधिमा स्नातक गरिरहेका २३ वर्षीय धराने प्रतिभाशाली युवा गायक निर्देशक निश्चल कार्कीले यो म्युजिक भिडियोलाई बजारमा ल्याउन लागेका हुन् । २ वर्ष अघि पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको छायांकन गतहप्ता शुक्रबार सकिएको थियो । अष्ट्रेलियाका सिड्नी, क्रिमोर्न पोइन्ट, ल्यापरस बिच, हर्सभाइललगायत स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियो हाल सम्पादनका क्रममा रहेको कार्कीले जानकारी दिए । एउटा सिंगो कथावस्तुमा आधारित रहेर छायांकन गरिएको म्युजिक भिडियोको कथा, निर्देशन कार्कीले गरेका छन् भने गीतमा शब्द, संगीत र स्वर पनि स्वयम् कार्कीकै रहेको छ । म्युजिक भिडियोमा ‘योर स्टाइल अस्ट्रेलिया’ ले सह–निर्देशन गरेको छ । ‘नेपाली म्युजिक भिडियोको क्षेत्रमा आइरहेका भिडियोहरु भन्दा बेग्लै स्वाद दर्शकले पाउनुहुन्छ’ गायक निर्देशक कार्की भन्छन्, ‘नेपाली दर्शक स्रोतालाई यो भिडियोले निराश नपार्ने बरु एउटा नयाँ टेस्ट दिन्छ ।’अष्ट्रेलियामै संघर्षरत युवाहरुलाई मोडलिङमा उतारेका कार्कीले मौलिक र परिष्कृत अभिनयमा जोड दिएको बताए । मोडलहरुमा निश्चल खडका, सन्तोष मल्ल ठकुरी, रोजी श्रेष्ठ, राजेश गन्धर्व र असिम श्रेष्ठ रहेका छन् । म्युजिक भिडियोको छायांकन नमित चन्द ठकुरीले गरेका छन् । म्युजिक भिडियोमा ‘ल्याम्बोर्गिनी’ नेपाली म्युजिक भिडियो जगत्मा ठूलो बजेट र उच्च स्तरीय प्रविधि प्रयोग गरेको यस म्युजिक भिडियोमा संसारकै महङ्गो मध्येको एउटा कार ‘ल्याम्बोर्गिनी’ को प्रयोग गरिएको गायक निर्देशक निश्चल कार्कीले बताए । गायक तथा निर्देशक कार्कीका अनुसार नेपाली सिने जगतमै ‘ल्याम्बोर्गिनी’ को प्रयोग पहिलो हो । यो कारको भाडा मात्रै नेपाली रुपैयाँ प्रति घण्टा १ लाख ५० हजारसम्म परेको छ । यसका साथै ‘बिएमडब्ल्यु एमफोर’ समेत प्रयोग भएको छ । प्रविधिका हिसाबले समेत उच्च स्तरीय मानिएको यस भिडियोको छायांकन ४.५ के ब्लाक म्याजिक क्यामेराले गरिएको कार्कीले बताए । यो क्यामेरा समेत भिडियोमा सम्भवतः पहिलो पटक प्रयोग गरिएको कार्कीले जनाए । यो हाइरिजोलुसन क्यामेरा भएको उनको भनाइ छ ।

birsana

यसरी भयो म्युजिक भिडियोमा लगानीः

कार्की म्युजिक भिडियोका निर्देशक तथा गीतका गायक, रचनाकार र संगीतकार समेत रहेका निश्चल कार्कीले सामाजिक सञ्जालमा म्युजिक भिडियोको निर्माण सम्बन्धी जानकारी दिए । उनले कसरी बनाउने योजना भयो भन्ने बारेमा आफ्नै शब्दमा यसरी भने, ‘मैले भिडियो बनाउन नेपालदेखि नै स्ट्रगल गरिराथेँ । तर पढाइ बिग्रन्छ भनेर घर परिवारको सपोर्ट भएन । तर मेरो ‘गर्छु’ भन्ने विश्वास हटेन र, केही सपनाहरु बोकेर अष्ट्रेलिया आएँ । यता पनि केही समस्याहरु त देखियो तर, एकदिन मेरो रुममेट दाइले मेरो आवाज सुन्नु भयो । आवाज मात्र हैन म उहाँसँग बिजनेस प्लानको पनि कुरा गर्थेँ । र, दाइले मलाई एकदिन भन्नु भयो, ‘भाइ तिम्रो जुन ‘एम’, ‘कन्फिडेन्ट लेभल’ र ‘ट्यालेन्ट छ’, मलाई धेरै मनपर्यो, हामी मिलेर म्युजिक भिडियो गरौँ, म ‘सपोर्ट’ गर्छु’ दाईले भन्नु भयो, ‘एक्टिङ त मलाई त्यस्तो आउँदैन तर, तिमी भएपछि मलाई अरु कुरा चाहिँदैन, तिमीले सिकाइहाल्छौ ।’ र, पछि मेरो अर्को भाइ राजेश भाइले पनि त्यही कुरा भन्यो र, हामी तीन जनाले काम गर्न लाग्यौँ । ‘हामीले गरेपछि एकदम ‘युनिक’ गरौँ भाइ, आइडिया तिमीले बनाउ, लगानी हामी तीन जनाले गरौँला । तिमीले जे भन्छौ त्यही गरौँला, तिमीले जे भने पनि हामी खुसी छौँ, किनभने तिमीले राम्रो गर्छौ भन्ने हामीलाई विश्वास छ, अहिले जिन्दगीको कुरा छ, पैसा भन्ने कुरा पछि आइ हाल्छ ।’ दाइले भन्नुभयो ।

अनि यसरी महंगो बजेटमा काम गर्न लागियो । र, एक्टिङको कुनै अनुभव नभएका मान्छेहरुलाई भिडियोमा म आफैँले उतारेको छु । मैले नेपालकै म्युजिक भिडियोको बजारमा राम्रो गर्ने प्रयास गरेको छु । मलाई लाग्छ नेपाली स्रोतादर्शक पक्कै निराश हुँदैनन् । नेपालीले म्युजिक भिडियो मन पराइदिए भने त्यही ठूलो कुरा हुन्छ । त्यसैबाट मैले खर्च गरेको उठ्यो भन्ने ठान्नेछु । पैसा त बिस्तारै कमाइ हालिन्छ नि ।मेरो आत्मविश्वास हो यो, जे गर्यो निश्चलले आफैँ दुख गर्यो । सानैदेखि म्युजिक भिडियोमा केही गर्छु भन्थेँ तर यीे कुरा सुनेर हाँस्ने धेरै थिए । विश्वास गर्ने पनि कम थिएनन् । र, अन्त्यमा गरेर नै छाडेँ । र यसैबीचमा विश्वास गर्ने मान्छेहरुका बीचमा थिए सन्तोष मल्ल ठकुरी । जो आफैँ पनि अष्ट्रेलियामा ८ वर्ष बसिसकेका छन् ।

सानै उमेरमा म्युजिक र मिडिया सानै उमेरमा म्युजिक र मिडिया बुझेका निश्चल कार्की (२३) अहिले अष्ट्रेलियामा मिडिया नै पढिरहेका छन् । सूचना प्रविधिमा स्नातक गरिरहेका कार्की गीतसंगीत सिर्जना गर्ने र मिडिया समेत सञ्चालन गरिरहेका छन् ।कार्की पूर्वको प्रतिष्ठित छापा माध्यम ब्लाष्ट टाइम्स दैनिकको अनलाइन संस्करणका रुपमा रहेको डब्लुडब्लुडब्लु डट ब्लाष्टखबर डटकमका प्रबन्ध निर्देशक समेत हुन् । साहित्यिक र पत्रकारिताको पारिवारिक पृष्ठभूमिबाट हुर्किएका कार्की (आफ्ना ठूला बुबा राजकुमार कार्की जो ब्लाष्ट दैनिकका प्रधान सम्पादक र कविका रुपमा कहलिएका छन् । र, किशोरकुमार कार्की ब्लाष्ट दैनिककै सम्पादक र प्रबन्ध निर्देशक हुन्) उनैको पदमार्गलाई पछ्याउँदै विदेशमा अध्ययनरत छन् ।उनले केही वर्ष अघि इटहरीमा रहेको पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा साइँला काका प्रवीणकुमार कार्कीको सहयोगमा रेकर्ड गराएको गीत ‘बिर्सन सक्दिन’ को म्युजिक भिडियो चाँडै ल्याउन लागेका हुन् । भिडियो प्रविधि र लगानीका हिसाबले अहिलेसम्मकै महंगो भनिएको छ ।

14958200_1080737762053802_338142113_o