काठमाडौं/त्रिवि शिक्षण अस्पतालमा अनशनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाको लागि दबाब दिन सरकारी चिकित्सक सङ्घले शुक्रबारदेखि आन्दोलन थाल्ने भएका छन् ।केसीका मागमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवामा संलग्न नहुने घोषणा गरेका हुन् ।
सरकारी चिकित्सक सङ्घका महासचिव विष्णुरथ गिरीले मङ्सिर १७ र १८ गते दुई दिन आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिए । साथै, उसले देशभरिका सरकारी अस्पतालले अस्पताल प्राङ्गणबाट आकस्मिक सेवा सञ्चालन गर्न अपील गरेको छ । अनसन थालेको १९ दिनसम्म पनि डा. केसीका माग पूरा गर्न सरकारले तदारुकता नदेखाएको सङ्घको भनाइ छ ।त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा कनिष्ठ व्यक्ति केपी सिंहलाई डिन नियुक्त गरेसँगै केसीले दसौं सत्याग्रह थालेका हुन् । वरिष्ठताका आधारमा डिन नियुक्ति गर्ने चार÷पाँच वर्षयताको थिति तोडेर त्रिवि उपकूलपति तीर्थ खनियाँले सिंहलाई नियुक्त गरेपछि केसीले सिंह र खनियाँ दुबैको बर्खास्त मागेका छन् । सम्पादकहरुद्वारा चिन्ता व्यक्त यसैबीच देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले डा. गोविन्द केसीले राखेका मागप्रति ऐक्यबद्धता जनाउँदै त्यसमा सरकारको उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । डा. केसीका माग चाँडो सुनुवाइ गर्न सरकार तथा सरोकारवाला पक्षसँग सम्पादकहरूले आग्रह पनि गरेका छन् । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षामा व्याप्त विकृति अन्त्यका लागि चार वर्षदेखि पटक–पटक आमरण अनसन बस्नु परेको स्थिति औंल्याउँदै सम्पादकहरूले बिहीबार साझा अपील जारी गरेका छन् ।
यसअघि सम्पादकहरूले त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका थिए । त्यही भेटपछि नै साझा अपील जारी गरिएको हो । साझा अपिलमा पत्रकार सुधीर शर्मा, अखिलेश उपाध्याय, गुणराज लुइँटेल, सुवास घिमिरे, प्रकाश रिमाल, दिलभूषण पाठक, प्रतीक प्रधान, प्रशान्त अर्याल, किरण नेपाल र नारायण वाग्लेले हस्ताक्षर गरेका छन् । यसअघि डा. केसीसँगको भेटमा सम्पादकहरूले उनको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका थिए ।