आमिर खानले आफ्ना निकट मित्र सलमान र शाहरुख खानलाई ‘दंगल’ देखाउन चाहेका छन् । ‘म मेरा निकट मित्र सलमान र शाहरुखले जहिले चाहन्छन्, त्यही दिन दंगलको विशेष सो राख्न तयार छु,’ मंगलबार राति मुम्बईमा गरिएको दंगलको विशेष सोपछि उनले भने, ‘उनीहरू निकै व्यस्त भएकाले आउन सकेनन् ।
तर, उनीहरू जतिवेला भन्छन्, म विशेष सो राख्न चाहन्छु ।’ आमिरले दंगलप्रति शाहरुख र सलमानको प्रतिक्रिया सुन्न आफू आतुर रहेको बताएका छन् । दंगलले प्रिमियरमा निकै तारिफ पाएको छ । चर्चित पहलमान महावीर सिंह फोगट र उनका दुई छोरी गीता र बबिताको जीवनमा आधारित फिल्ममा आमिर महावीरको भूमिकामा छन् ।
विशेष सोमा पहलमान महावीर परिवारसहित आएका थिए । फिल्म हेरेपछि उनले आमिरले निकै मिहिनेत गरेर फिल्म बनाएको र यो फिल्म हेरेपछि समाजमा छोराछोरीमा हुँदै आएको भेदभावमा कमी आउने विश्वास व्यक्त गरे । अब आफू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको आमिरले बताए । दंगल नीतेश तिवारीको निर्देशनमा बनेको हो ।