crismassविजयपुर/धरान–१५ स्थित आशिष प्रेस्बिटेरियन चर्चले सञ्चालन गरेको बाल छात्रावासमा आइतबार ख्रीष्टमसको निकै चहलपहल थियो । छात्रावासको भवनमा आयोजित ख्रीष्टमस विशेष कार्यक्रममा स्वागत गर्ने र ख्रीष्टमसको शुभकामना साटासाट गर्ने क्रम चलिरहेको थियो । औपचारिक कार्यक्रममा आयोजकहरुले निम्ता गरेका अन्तरधार्मिक शान्ति सञ्जालका अतिथिहरुको राम्रै उपस्थिति थियो ।

औपचारिक कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट दैनिकका प्रधानसम्पादक राजकुमार कार्कीले मन्तव्यको क्रममा आस्था र विश्वासले मात्र मानिसलाई लक्ष्यमा पु¥याउने धारणा आप्mनो कविताबाट सुनाए । कविता सकिनासाथ बजेका तालीको गड्गडाहट रोकिन नपाउँदै सबै धर्मको सार नै सबैलाई प्रेम गर्न सिकाउने भएको विचार उनले एकजना धर्मगुरुको भनाइ सापटी लिएर सुनाए, ‘लभ फर अल, हेट फर नन’ अर्थात् ‘सबैलाई प्रेम गर, घृणा कसैलाई नगर ।’

कार्यक्रममा अन्तरधार्मिक शान्ति सञ्जाल मोरङका संयोजक राजेन्द्रप्रसाद ढकालले पनि हरेक धर्मको अन्तिम सार शान्ति र प्रेम नै भएको भन्दै धार्मिक सहिष्णुता र सामाजिक एकता भएको नेपाली समाज संसारकै नमूना भएको बताए । हरेक धर्म र जातिले सबैको अस्तित्व स्वीकार गरेर बस्नु नै विविधतायुक्त समाजको विशेषता भएको उनले बताए । कार्यक्रमका अध्यक्ष तथा आशिष प्रेस्बिटेरियन चर्चका पास्टर कुबेर गुरुङले हरेक जाति, धर्म, लिङ्ग, वर्णका मानव जातिको मुक्तिका लागि येशू ख्रिष्टको जन्म भएको भन्दै येशू ख्रिष्टको सन्देशले समाजमामा उत्साह छाउने बताए ।

विविधतायुक्त समाजमा मिलेर बस्नु नै आजको आवश्यकता भएको बताउँदै उनले बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाज सधैँ एकतामा बाँधिनुपर्ने धारणा राखे । सो अवसरमा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरूमाझ ख्रीष्टमसको शुभकामना आदानप्रदान भएको थियो ।

यसैबीच ख्रीष्टमसको अवसरमा धरानका विभिन्न चर्चमा विभिन्न कार्यक्रम सम्पन्न भए । इसाई धर्मावलम्बीहरुले ठूलो उत्सव (पर्व) को रुपमा मनाउने ख्रीष्टमसमा अन्य धर्मका युवायुवतीको पनि उपस्थिति थियो । सामाजिक सञ्जालहरू पनि ख्रीष्टमसमय भएका छन् ।