धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासलाई सोमबार विदाई गरिएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले प्रा.डा. दासको उपकुलपतिको कार्यकाल समाप्त भएसँगै औपचारिक विदाई गरेको हो । प्रा.डा. दासको पुष २० गते पाँचवर्षे कार्यकाल समाप्त भएको थियो । उनले सन् २०१२ जनवरी ५ तारिखका दिन उपकुलपतिको पदमा पदभार ग्रहण गरेका थिए । उनी फर्माकोलोजी विभागका प्रोफेसर हुन् । उनी आफ्नो विभागमा पुष २२ गतेदेखि फर्किसकेका छन् । उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. अरविन्दाकुमार सिंन्हा, रजिष्टार तुलबहादुर श्रेष्ठले शुभकामना दिँदै दोसल्लासहित माला पहिर्याएर विदाई गरेका छन् । प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले प्रा.डा. दास प्रतिष्ठानको लागि अहोरात्र खटिने र अन्य कर्मचारीहरुलाई काम गर्न उत्साह प्रदान गर्ने गरेको बताए । शिक्षाध्यक्ष प्रा.डा. श्रेष्ठले उपकुलपति दासको कार्यकालमा शैक्षिक गुणस्तरमा सुधार, थप उपचार सेवा, नयाँ भौतिक संरचनाहरु थपिएको बताए । प्राडा. दासले आफूले जे जति गरे पनि सबै टिकवर्कले गरेको बताए । उनले आफ्नो सदैव प्रतिष्ठानको लागि साथ सहयोग रहने र यसको विकासको लागि जे गर्न नी आफु तयार रहेको बताए । कार्यक्रममा अस्पताल निर्देशक प्रा.डा. अरविन्दाकुमार सिंन्हा, विद्यार्थी कल्याण समाजको तर्फबाट अध्यक्ष डा. मयोज चौधरी, कर्मचारी कल्याण समाजको उपाध्यक्ष उमेश थापा र शिक्षक कल्याण समाजका तर्फबाट महासचिव प्रभातरञ्जन पोखरेलले विदाईको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले प्रतिष्ठानका विभिन्न सेवाहरु थप्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।