ताप्लेजुङ/नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा माओवादि संबध विद्यार्थी संगठनले आवाहान गरेको शैक्षिक हड्तालको कारण आज ताप्लेजुङका शैक्षिक संस्था विहानै देखि ठप्प बनेका छन् । गत पुस ७ गते लोकमान सिंह कार्किलाई सर्बोच्च अदालतको परीसरमा कालोमोसो दल्लने आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी रिहा नगरेकाले आज (मंगलबार) एक दिन शैक्षिक हड्तालको आवाहान गरेको सो विद्यार्थी संगठनले बताएको छ । शैक्षिक संस्था बन्द हुँदा लाखौ विद्यार्थीको पठन पाठन अबरुद्ध भएको छ । आफ्ना कार्यकर्ताले नेपालका भ्रष्टलाई कालोमोसो दलि कारवाहि गर्दा समेत प्रहरीले घटनालाई तोडमोड गरी लामो समय सम्म हिरासतमा राखेकाले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष गणेश कार्कि ढोलीले बताए । यसैविच हिजो साँझ ताप्लेजुङ सदरमुकाममा शैक्षिक संस्था बन्दको आवाहान गर्दै माईकिङ गर्ने केहि विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरी माईकिङ नगर्ने सर्तमा छाडेको थियो ।
यता आज शैक्षिक संस्था हड्तालको आवाहान गरीए पनि ताप्लेजुङमा सञ्चालीत निजि तथा आवासी विद्यालय अर्गनाईजेशन आबद्ध विद्यालयको परीक्षा भने सञ्चालन हुने भएको छ । परिक्षा रोके शैक्षिक क्यालेण्डरमा असर पर्ने भएकाले प्रहरी प्रशासन समक्ष सुरक्षाको सहयोग मागेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी रहेको निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल ताप्लेजुङका सचिव गणेश सिग्देलले बताउनुभयो । उहाँले विद्यार्थीलाई विद्यालय आई परीक्षामा सहभागि हुन पनि आग्रह गर्नुभएको छ । ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुरकेशिले समेत परीक्षा सञ्चालन हुने सबै विद्यालयमा सुरक्षा दिने बताउँदै निर्धक्क भएर परीक्षामा सहभागि हुन विद्यार्थिलाई आग्रह गर्नुभएको छ ।
उता सर्वोच्च अदालतले भने सोमबार (हिजो) लोकमान सिंह कार्कीलाई कालो मोसो दल्ने दुई जनालाई एक महिना जेल सजाय सुनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले लोकमान लाई कालोमोसो दलेका थिए । सर्वोच्च अदालतमा बयानका लागि गएका कार्कीमाथि शाही र बुढाले हातपात गर्दै पुस ७ गते कालोमोसो दलेका थिए । उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै तत्काल नियन्त्रणमा लिएको थियो । उनीहरुले कालोमोसो लगाएपछि नेकपा माओवादी जिन्दाबाद भन्दै नारा समेत लगाएका थिए ।