काठमाडौँ/  बाह्रवर्षे मेला भर्न अहिले बौद्धनाथ चैत्यमा दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रत्येक १२ वर्षमा एक दिन त्यस चैत्यमा लाग्ने मेला भर्न काठमार्डौँ उपत्यका र त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा विभिन्न सङ्घ संस्थाले भीड व्यवस्थापन तथा सामाजिक कार्य सञ्चालन गरेका छन् । समितिले सर्वसाधरण दर्शनार्थीका लागि आज चैत्यको चारवटै ढोका खुला गरेको छ ।

हिमाली तथा उच्च पहाडी भेगमा बसोवास गर्ने समुदायको नयाँ वर्ष (ल्होसार ) का दिन पारी सो चैत्यको चारवटै ढोका खोलिन्छ । यस वर्षको ल्होेसारलाई ती समुदायले चार्डपर्वका रुपमा मानेका छन् । सो समुदायद्वारा विभिन्न १२ पशुपक्षीका नाममा वर्षको गणना गरिन्छ ।

एउटा चरावर्षका दिन सो चैत्य निर्माण सुरु गरिएको र अर्को चरावर्षमा चैत्य बनाएर सकिएकाले पनि १२ वर्षमा एक पटक चारवटा ढोका खुला गर्ने प्रचलन रहेको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए । यसैगरी चैत्य परिसरभित्र रहेको कुँवा पनि भक्तजनका लागि आज खुला गरिएकाले जल निकाल्नका लागि त्यहाँ दर्शनार्थीको ठूलो भीड लागेको छ । महायानी सम्प्रदायको अनुयायीले उक्त कुण्डलाई पवित्र मान्दछन् । सो कुण्डबाट जल निकालेर घरमा राखेमा अनिष्ट नहुने, दुःख कष्टबाट मुक्त भई पारिवारिक सुख शान्ति कायम हुने जनविश्वास रहेको बौद्व विद्वान् टीका शेर्पाले बताए । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्यमा गत वर्षको भूकम्पले क्षति पु¥याएपछि त्यसको जीर्णोद्वारसमेत सम्पन्न गरिएको छ । तामाङ समुदायले विभिन्न वेषभूषा, पोसाक तथा संस्कृतिलाई त्यस क्षेत्रमा आज प्रस्तुत गरेका थिए ।

-रासस