इनरुवा / एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसके देश र जनताले प्राप्त गरेका सबै उपलब्धिहरू गुम्न सक्ने बताएका छन् । सुनसरी जिल्ला पार्टी कार्यालयद्वारा शनिबार जिल्ला सदरमुकाम इनरुवामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०७४ माघसम्ममा निर्वाचन गराउन नसके लोकतन्त्र र गणतन्त्रबाट प्राप्त सबै उपलब्धिहरू समाप्त हुने औँल्याए । उनले देशलाई सङ्कटबाट जोगाउन निर्वाचन अपरिहार्य रहेको बताउँदै लोकतन्त्र, गणतन्त्र र प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न निर्वाचन अन्तिम विकल्प भएकोले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्नेमा जोड दिए । सरकारले निर्वाचनका नाममा देशमा संवैधानिक र राजनीतिक सङ्कट निम्त्याउन खोजेको आरोप ओलीले लगाए । अध्यक्ष ओलीले मधेशवादी दलहरू मधेशमा एमालेविरोधी प्रचारमा खुलेआम हिँडेकाले सचेत भई पार्टीको काममा लागिपर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले एमाले मधेश र मधेशी जनताको विरोधी नभई उनीहरूको हक–अधिकार स्थापनामा लागिपर्ने पार्टी भएको ठोकुवा गरे । एमाले सरकारमा भएको बेला सबैभन्दा बढी विकास बजेट मधेश क्षेत्रमै खर्चिएको स्मरण गराउँदै उनले भने, ‘त्यसको मूल्याङ्कन आगामी निर्वाचनमा मधेशी जनताले गर्नेछन् ।’ यस्तै ओलीले मधेशका जिल्लाहरूमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै कृषिलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न सके देशमा देखिएको खाद्य सङ्कटको अन्त्य भई मुलुक खाद्यमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे । खाद्यन्नमा मुलुकलाई आत्मानिर्भर बनाउनका लागि सरकारले समेत कृषि क्षेत्रका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ ओली भने । यसैगरी आमसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिब भिम आचार्यले मधेसका मुद्दा अघि सार्ने पार्टी एमाले बाहेक अरु कुनै पार्टी नभएकोले सरकारले संबिधान संशोधनका नाममा मधेशी जनताको अधिकार कटौती गर्न लागेको आरोप लगाए । ‘सरकारले ल्याएको संविधान संसोधन प्रस्ताव मधेस बिरोधी छ,’ उनले भने, ‘यसमा मधेशी जनता सचेत हुनुपर्छ ।’ यस्तै मधेसमा एमाले बिरुद्ध गलत भ्रम फैलाउने काम भइरहेको छ, आम जनता सचेत हुन जरुरी छ आचार्यले बताए । आमसभामा नेकपा एमालेका केन्द्रिय सदस्य महफुज अंसारीले मधेशवादी दल जनतावादी पार्टी नभई श्रीमतीबादी पार्टी भएको आरोप लगाए । उनले भने मधेशवादी दलमा जनताले दिएको मतबाट मधेशवादी पार्टीका नेताहरुले आफ्ना श्रीमती र आफन्तहरुलाई सभासद बनाउनु बाहेक जनताका लागि कुनै काम गरेको छैन्, त्यसैले जनता जागरुक हुनुपर्छ । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य धर्मराज निरौला, जिल्ला पार्टी उपाध्यक्ष रमेश बस्नेत लगायतकाले बोलेका थिए भने आमसभा एमाले सुनसरी अध्यक्ष द्धारिकलाल चौधरीको अध्यक्षतामा समपन्न भएको थियो । त्यसैगरीमा आमसभाको अवशरमा नेपाली काँग्रेस, राप्रपा लगायत बिभिन्न पार्टी परित्याग गरी सयौं एमालेमा प्रवेश गरेका थिए ।