काठमाडौँ/सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि एक्काइसौँ शताब्दी अनुकूल रोजगारमूलक प्राविधिक शिक्षासम्बन्धी अभिमुखीकरण दिइएको छ । ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा आज सम्पन्न दुईदिने शैक्षिक सम्मेलनमा सीपमूलक र व्यावसायिक शिक्षाका लागि निजी क्षेत्रसँग सहकार्यलाई पनि बढाउँदै विद्यालयको कक्षा कोठाको सुधारमा ध्यान दिन जोड दिइएको हो । आयोजक जिपिएफका कार्यकारी निर्देशक रामरोहन पन्तले शिक्षामा रुपान्तरण, नेतृत्व विकास र समृद्धिको आधार निर्माणका लागि आपसका अनुभव र अभ्यासलाई आदानप्रदान गरिएको बताए । ग्लोबल एक्सन नेपालका निर्देशक बिके श्रेष्ठले शिक्षाकर्मीले कक्षा कोठा र बाहिर पनि ल्याउन सक्ने परिवर्तनबारे निरन्तर वकालत गर्नुपर्ने उल्लेख गरे । सम्मेलन ग्लोबल एक्सन नेपाल, भानोदय प्रावि, वातावरण शैक्षिक केन्द्र, लुम्बिनी वल्र्ड पिस फोरम, किङ्स कलेज, कुलल्याब र काञ्जिरोवा राष्ट्रिय माविको सहकार्यमा आयोजना भएको हो ।

रासस