नवलपरासी/ मुसलमान समुदायको आस्थाको केन्द्रबिन्दु बनेको मदारबाबा मेला यस पटक आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ ।
मुसलमान समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध छ । मेलाका लागि आवश्यक तयारी तीव्र रुपमा अघि बढाइएको मेला व्यवस्थापन समितिका संयोजक जमालुद्दिन अन्सारीले जानकारी दिए । मदारबाबाको मुख्यस्थल नवलपरासी जिल्लाको कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाड क्षेत्र दुम्किबास डाँडामा छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने र विभिन्न दुःख हट्ने विश्वास रहिआएको छ । मेलामा मदारबाबासँग आस्था राख्ने मुसलमान, हिन्दू, बौद्ध, इसाईलगायत विभिन्न समुदायका तीर्थालु आउने गर्छन् ।