काठमाडौँ/ प्रत्येक वर्ष माघ महिनामा माधवनारायण मेला लाग्ने साँखुस्थित सालीनदीमा आज बेलुकीदेखि नियमित गङ्गा आरती सञ्चालन हुने भएको छ । श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले पशुपति गङ्गा आरती समूहको सहयोगमा नियमित आरती गर्न लागेको हो । ऐतिहासिक, सांस्कृतिक र धार्मिक हिसाबले महत्वपूर्ण भए पनि सालीनदी एवम् साँखु क्षेत्र ओझेलमा परेकाले यहाँको धार्मिक पर्यटन प्रवद्र्धनका लागि नित्य आरती सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष राजभाइ मानन्धरले राससलाई जानकारी दिए। “पौराणिक कालमा नवराज राजाले राज्य गरेको, सालीनदीमा ब्रत गरी चन्द्रावती पापबाट मुक्त भई पुण्य कमाएको धार्मिक विश्वास छ, ऐतिहासिक रुपमा कान्तिपुरमा बस्ती बस्नुअगावै राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यो स्थानको ऐतिहासिक महत्व पनि छ”– उनले भने। यस वर्ष कठोर ब्रत बसेका ब्रतालुले आजै परदेश यात्रा पूरा गरेको समितिले जनाएको छ । माघ शुक्ल एकादशीका दिन मङ्गलबार चाँगुनारायणको दर्शनमा गएका ब्रतालु आज साँखु फर्किएका छन् । यसअघि माघ कृष्ण पक्षमा ब्रतालुले पशुपति, फर्पिङ र शुक्ल पक्षको प्रतिपदा तिथिमा बनेपा र पनौतीको खाली गोडा पैदल परदेश यात्रा गरेका छन् । यस वर्ष १७७ महिला र १५ पुरुष गरी १९२ जनाले माधवनारायण एवम् स्वस्थानीको कठोर ब्रत गरिरहेको समितिले जनाएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको यो ब्रत माघ शुक्ल पूर्णिमा अर्थात् माघ २८ गते शुक्रबार सम्पन्न हुनेछ ।
रासस