धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार युरोलोजी सम्मेलन शुरु भएको छ । प्रतिष्ठानको सर्जरी विभागअन्तर्गत युरोलोजी डिभिजनको आयोजनामा तीनदिने नेपाल एसोसिएसन अफ युरोलोजिकल सर्जन्ससम्बन्धी ‘युरोकोन नेपाल–२०१७’ भइरहेको हो ।
युरोकोनमा सहभागी हुन भारत, चीन, अमेरिका, टर्की, सिङ्गापुर, थाइल्याण्ड, म्यानमार, बङ्गलादेश, फिलिपिन्स र नेपालका विशिष्ट युरोलोजी विशेषज्ञहरू आएका छन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका दुई सयको हाराहारीमा विशेषज्ञ आएको अध्यक्ष प्राडा सीएस अग्रवालले बताए ।
युरोलोजीसँग सम्बन्धित लेप्रोस्कोपिक तथा इण्डोशल्यक्रिया विधिद्वारा गरिने विभिन्न शल्यक्रियाको प्रत्यक्ष प्रदर्शन गरिने कार्यक्रम रहेको उनले बताए । कार्यशालाबाट अत्यधिक ज्ञान हासिल गरी देश र जनतालाई थप गुणस्तरीय र प्रभावकारी सेवा दिन नेपालका युरोलोजिष्टहरू सक्षम हुने विश्वास लिइएको छ ।