धरान/भूकम्पबाट क्षतिग्रस्त भवन निर्माण गर्ने उद्देश्यले शिक्षा सदन उच्चमाविमा बिहीबार सप्ताहव्यापी धार्मिक तथा शैक्षिक महोत्सव शुरु भएको छ ।महोत्सव उद्घाटनपूर्व शान्ति कलश यात्रा निकालिएको थियो । शिक्षा सदनबाट शुरु भएको शान्ति कलश यात्रा भानुचोक, छाताचोक, लक्ष्मीचोक, रेडक्रस चोक, पुरानो बजार, चिनियाँ चोक हुँदै महोत्सव स्थलमा आएर टुङ्गिएको थियो । कलश यात्रामा तीन हजारभन्दा बढी मानिस सहभागी थिए ।

महोत्सवको उद्घाटन सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले गरे । उद्घाटनका क्रममा उनले विद्यालयले गर्न लागेको पवित्र कामका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले सामुदायिक विद्यालयहरूमा शिक्षा सदन नमूना विद्यालयको रूपमा रहेको बताउँदै त्यसका लागि जिल्ला शिक्षा कार्यालयले सक्दो सहयोग गर्ने बताए ।कार्यक्रममा महोत्सव मूल आयोजक समितिका तर्पmबाट संयोजक श्याम कटुवालले महोत्सवको उद्देश्यबारे प्रकाश पारे ।

उनले महोत्सवबाट ७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको बताए । त्यसका लागि सहयोग गर्न उनले दाताहरूलाई आग्रह गरे । प्रदेशकै नमूना विद्यालय बनाउने उद्देश्यले सञ्चालित महोत्सवबाट सङ्कलित रकम र अपुग रकम दाताहरूबाट सङ्कलन गर्दै पाँच वर्षभित्र नमूना विद्यालय सम्पन्न गर्ने विद्यालयका प्रधानाध्यापक एवम् मूल आयोजक समितिका महासचिव अमर बस्नेतले बताए । कार्यक्रममा पूर्वप्रधानाध्यापकका तर्फबाट अम्बिका सम्बाहाम्फे, पूर्वविद्यार्थीबाट मनिष खड्गी, पूर्वविद्यालय व्यवस्थापन समितिका तर्पmबाट बकसमान गुरुङ, कथावाचक राष्ट्रिय शान्ति अभियानका अभियन्ता गोविन्दशरण महाराज, आर्ट अफ लिभिङकी मीरादेवीलगायतले बोलेका थिए । मीरादेवीले आर्ट अफ लिभिङका बारेमा प्रवचनसमेत दिइन् ।

कथा प्रवचन र विज्ञान योगलगायतका कार्यक्रम शुक्रबार शुरु हुने छ । फागुन १२ गतेसम्म चल्ने महोत्सवमा शैक्षिक तथा धार्मिक गतिविधिहरूसमेत हुनेछन् । कार्यक्रममा गणेशको झाँकी तथा जातजातिहरूले झाँकीसमेत प्रस्तुत गरेका थिए ।