विश्व किर्तिमान बनाउनका लागि मानिसहरु अनौठो अनौठो काम गर्छन् । यस्तै काम एक व्यक्तिले गरेका छन् । जर्मनिका एक युवाले अनुहारमा दुलो बनाएर विश्वकिर्तिमान बनाएका छन् ।

२२ वर्षीय जोयल मिग्लरले अनुहारमा सुरुङ बनाउने लत छ । उनले बडी पियर्सिङलाई नयाँ उचाईंमा लाँदै अनुहारमा मात्र ११ वटा दुलो बनाएका छन् जसमा एक्सपान्डर लगाउँदै सुरुङको आकार दिएका छन् ।

गालमा रहेका उनको दुईवटा दुलोको आकार त झन् ३४ मिलिमिटर ठूलो छ । अझ त्यसलाई ४० मिलिमिटरसम्म बनाउने उनको धोको छ ।

जमर्नीमा जन्मिएका मिग्लरले अहिले अनुहारमा सबैभन्दा बढी दुलो बनाउने किर्तिमान नै राखेका छन् । आफ्नो शरीरको स्वरुप परिवर्तन गर्ने कुराको सुरुवात उनले १३ वर्षको सानो उमेरदेखि नै गरेका थिए ।

उनले सबैभन्दा पहिलो आफ्नो कान छेँडेका थिए । त्यसपछि यो लत नै बन्दै गयो ।