काँकडभिट्टा / झापाको बाहुनडाँगीमा लघुवित्त बैङ्क लुटेर फरार एक समूहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बाहुनडाँगीको जीवन विकास संस्थामा फागुन १२ गते हतियार देखाएर एक लाख लुट्ने समूहका नाइके बाहुनडाँगी–४ का ३८ वर्षीय पूर्णबहादुर लुङ्गेली मगरलाई काँकडभिट्टा प्रहरीले शनिबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय तथा काँकडभिट्टा इलाका प्रहरी कार्यालयको टोलीले मगरलाई शुक्रबार छिमेकी छविलाल लुङ्गेली मगरको बाथरुमभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरका साथबाट अटोमेटिक पेस्तोल एक थान र सो पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, गोली १५ राउण्ड, को. २८ प ३४४४ नम्बरको बुलेट मोटरसाइकल १ थान, मे. ३ प ३१९२ नम्बरको रातो पल्सर मोटरसाइकल १ थान र नगद १५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ गर्न खोज्दा भागेपछि गोलीसमेत चलाउनुपरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिप्रसाद शर्माले उनलाई सार्वजनिक गर्दै मगर यसअघि पनि विभिन्न स्थानमा लुटपाटमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जनाए । छ वर्षअघि राजधानीको सुनधारास्थित सुनचाँदी पसलमा डाका गरेपछि उनी पक्राउ परेका थिए । केन्द्रीय कारागारमा १८ महिना कैद बसेका उनी त्यसपछि सरुवा भई रामेछाप कारागारमा पाँच वर्ष गरी ६ वर्ष ६ महिना कैदमा बसेर छुटेका थिए । कारागारबाट छुटेपछि भारतको जोगबनीबाट १ लाख ३० हजार रुपैयाँमा पेस्तोल खरीद गरेर बोक्ने गरेको खुलेको छ । सोही पेस्तोल उनको साथबाट बरामद भएको प्रहरीले बताएको छ । सुनसरीको इटहरी–१ धरानरोडमा विश्वराज धिमालले सञ्चालन गरेको मिङमिङडिङ ज्वेलर्सबाट गत माघ १२ गते हतियार देखाई साढे तीन तोला सुन र नगद एक लाख ७५ हजार रुपैयाँ लुटपाट भएको घटनामा उनको संलग्नता रहेको प्रहरीले बताएको छ । त्यस्तै, हतियार देखाएर इटहरीकै एक मनी ट्रान्सफरबाट साढे तीन लाख, धरान–११ को खेवा मनी ट्रान्सफरबाट साढे चार लाख रुपैयाँ लुटेर फरार भएका अभियुतm पक्राउ परेका हुन् । उनीमाथि हातहतियार तथा चोरीसम्बन्धी मुद्दा चल्ने बताइएको छ । डीएसपी शर्माले गिरोहमा पाँचजना रहेको जनाए । अन्य दुईजनाको समेत पहिचान भइसकेको जनाउँदै उनले तिनलाई समेत चाँडै समातिने बताए ।