काठमाडौं/ पेरुका अभिनेता तथा वातावरण अभियन्ता रिकार्डो टोरेसले ग्वाटेमालामा एउटा रुखसँग प्रतीकात्मक विवाह गरेका छन् ।

वातावरण संरक्षणका लागि चेतना जगाउन टोरेस प्रत्येक वर्ष विभिन्न स्थानमा रुखसँग विवाह गर्ने गरेका छन् । योसमेत गरी उनले नौचोटि रुखसँग विवाह गरिसकेका छन् । उनले रुखलाई पानी, खानेकुरा तथा धूप बालेर चढाएका थिए । उनले रुखको एक हाँगोमा औंठी घुसाएर चुमे अनि पाहुनाहरूले 'नवविवाहित जोडी'माथि चामल फ्याँके । टोरेसका अनुसार यो कर्मकाण्ड कुनै नाटक होइन किनकि रुखप्रतिको यो एक प्रतिबद्धता हो र वातावरण संरक्षणमा उनको चासो पनि यसबाट झल्किन्छ । विवाह समारोहको अन्त्यमा उनले पाहुनाहरूमाथि फूलको बुके फ्याँकेका थिए ।