नेपाली सांगीतिक क्षेत्रमा हलचल ल्याउने गीत बन्न सफल भएको छ हेमन्त रानाको ‘सुन साइली...’ । विदेशिएका युवाहरुको वियोगान्त कथा बोकेको यो गीत अहिले नेपालीहरुको मुखमा झुण्डिएको छ ।
युट्युवमा लिरिकल म्युजिक भिडियो सार्वजनिक हुँदा नै चर्चित भएको गीत ‘सुन साइली...’ म्युजिक भिडियो सार्वजनिक भएपछि झनै लोकप्रिय भयो । गीतको म्युजिक भिडियो युट्युवमा अपलोड गरेको २४ घण्टामा ५ लाख २४ हजारभन्दा बढी पटक हेरेर रेकर्ड नै कायम गर्न सफल भयो ।
भ्यालेन्टाइन डेको ४ दिनअघि अर्थात् फेब्रुअरी १० मा युट्युवबाट सार्वजनिक भएको भिडियो नेपालमा अहिलेसम्म युट्युवको ट्रेन्डिङ वानमा कायम रहिरहेको छ भने कतारमा समेत ट्रेन्डिङ वानमा नै छ । भ्यालेन्टाइन डे नजिकिँदै गर्दा विदेशिएका आफ्ना श्रीमान्÷प्रेमीको सम्झनाले पिरोलिइरहेका नेपाली चेली तथा विदेशी भूमिमा दुःख गरेर परिवारलाई सुखमा राख्ने सपना बोकेका नेपाली युवाहरु आफ्ना श्रीमती÷प्रेमीको सम्झनाले सताइरहेको बेला सोही पीडालाई सम्झाउने दुरुस्त गीत सुन्न पाउँदा झनै लोकप्रिय भयो ।
हिमाल साउदले लेखेको गीतलाई संगीतकार कालिप्रसाद बास्कोटाले संगीत भरेका हुन् । पछिल्लोपटक संगीतकार बास्कोटाले संगीत भरेको गीतहरु धेरै हिट भइरहेका छन् । उनको गीत ‘पारि त्यो डाँडामा...’, ‘नीर जैले रिसाउने...’ पनि भाइरल नै भएका थिए । त्यसपछि ‘ठमेल बजार...’ गीत पनि हिट भइरहेको छ । पछिल्लो समय आएको गीत ‘सुन साइली...’ भने यी दुईगीतभन्दा पनि आक्रामक रुपमा बजारमा चर्चा भइरहेको छ । तर साइली गीतबाट हेमन्त राना र गौरव पहारी जति चर्चित भए कालिप्रसाद बास्कोटा त्यति चर्चित भएनन् ।
युट्युवमा गीत सार्वजनिक भएपछि अहिलेसम्म ५० लाखभन्दा बढीपटक हेरिसकिएको छ भने १० हजारभन्दा बढी कमेन्ट आएका छन् । त्यसमा पनि एउटा कमेन्टमा हजार बढी रिप्लाइ आएको छ । धेरैले युट्युवमा आफ्नै यथार्थ भन्दै कमेन्ट गरेका छन् भने धेरैले गीत हेरेर भक्कानो फुटेको, आफ्नी साइलीलाई सम्झेर रोएको भनेका छन् । गीत यति हिट भयो कि युट्युवमा दर्जनौं कभर भिडियो बनेका छन्, तिनलाई पनि श्रोताले उति नै मन पराएका छन् । गीतलाई हिट बनाउन म्युजिक भिडियोले उत्तिकै साथ दिएको छ । एउटा चलचित्रको पूरै कथावस्तु बोकेको भिडियोमा कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय जीवन्त छ, जसले पनि भिडियो लोकप्रिय बनेको हो ।
यसअघि चर्चित भएका गीत ‘नीर जैले रिसाउने’ र ‘पारि त्यो डाँडामा’ गीतको म्युजिक भिडियो गीत अनुसारको नभएको भनेर आलोचित भएको थियो । तर ‘सुन साइली...’ मा त्यो गुनासो गर्ने ठाउँ दिएनन् म्युजिक भिडियोको समेत निर्देशन गरेका गायक हेमन्त रानाले । गीतको शब्द ‘चालीस कटेसी रमाउला’ भन्ने हरफले धेरैलाई स्तब्ध बनाएको छ भने गीतको बीचमा राखिएको फोन संवादले पनि धेरैको मन छोएको छ । समग्र गीतको शब्दले गीतले चर्चा पाएपछि फिल्म बनाउने उद्घोषसमेत गरिसकिएको छ । दर्शकमाझ जति चर्चित छ गीत, उति चर्चित होस् चलचित्र पनि, शुभकामना ।