भक्तपुर/ नेपाल पत्रकार महासङ्घ, भक्तपुर जिल्ला शाखाले भक्तपुरमा कार्यरत क्रियाशील पत्रकारहरुका लागि पत्रकार आचारसंहिता, २०७३ सम्बन्धी अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला विकास समिति, भक्तपुरको साझेदारीमा आयोजना भएको दुईदिने कार्यक्रममा नेपाल पत्रकार महासङ्घकापूर्व अध्यक्ष धर्मेन्द्र झाले सहभागी पत्रकारलाई आचारसंहिताका बारेमा प्रशिक्षण दिएका थिए।
पत्रकारका लागि आचारसंहिता नैतिक बन्धन भए पनि पत्रकार आचारसंहिता, २०७३ को व्याख्या गर्ने सम्पूर्ण अधिकार प्रेस काउन्सिल आफैँले राखेर अर्ध अदालत बन्न खोजेको टिप्पणी गरे ।
आचारसंहिताले अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउने प्रयास गर्नु सकारात्मक भएको चर्चा गर्दै उनले पत्रकारले समाचार लेखनमा सत्यता, सन्तुलन, गल्ती सच्याउने तत्परता र स्रोतको रक्षा गर्नुपर्ने औँल्याए ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् उपत्यका संयोजक ईश्वरी वाग्लेले पत्रकारले आचारसंहिता पालना गरे समाचार सन्तुलित हुने बताए ।
त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ, भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, महासङ्घ भक्तपुरका अध्यक्ष अमर भुजू, उपाध्यक्ष सोम शर्मा (बजगाई), सचिव जगत प्रजापतिलगायतले पत्रकार आचारसंहिताका बारेमा बोलेका थिए ।
कार्यक्रममा भक्तपुर कार्यक्षेत्र भएर कार्यरत ४० जना पत्रकारको सहभागिता रहेको थियो ।