ताप्लेजुङ/पुर्वका विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण देखिन थालेपछि ताप्लेजुङमा पनि उच्च सतर्कता अपनाईने भएको छ ।

जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको सोमबार बसेको बैठकले जिल्लामा भित्राईने पंक्षिजन्य बस्तुमा कडाई गर्नुको साथै विक्रि वितरणमा पनि सतर्कता अपनाउनका लागि जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

ताप्लेजुङमा ल्याईने बोईलर, गिरिराज लगायतका जातका कुखुरा तथा अण्डा जिल्ला बाहिरबाट भित्राईने भएकाले यातायात मार्फत आउने पंक्षिजन्य बस्तुको सुरक्षा निकायले सुरक्षा जाँचमा कडाई गर्ने, उपभोक्तालाई पनि सचेत गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताए ।

जिल्ला पशुसेवा कार्यालयमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी खड्का सहित, स्थानिय समन्वय समिति प्रमुख नरहरी भण्डारी, पशु शेवा कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो