निर्देशक संजय लिला भन्सालीका लागि चलचित्र ‘पद्यमावती’को सुटिङ सक्नु फलामको चिउरा चपाए जस्तै भएको छ । यो चलचित्रको छायांकनका क्रममा थुप्रै अवरोधको सामना गर्नु परिरहेको छ ।
केहि हप्ता अगाडि राजस्थानमा करणी सेनाले चलचित्रको बिषयवस्तुमाथि आपत्ती जनाउँदै छायांकन सेटमै पुगेर निर्देशक भन्सालीमाथि हातपात गरेका थिए । साथै, सेटका सामान पनि तोडफोड गरिएको थियो ।
अब, महाराष्ट्रको कोल्हापुरमा चलचित्रको सेटमा आगजनी गरिएको छ । मंगलबार राती ४०-५० जनाको समुहले सेटमा आगजनी गरेको हो । सेटमा सुरुवातमा तोडफोड गरिएको र त्यसपछि पेट्रोल बम हानिएको थियो । सेट पुरै जलेर खरानी भएको छ । यो घटनापछि चलचित्रको छायांकन रोकिएको छ ।
दीपिका पादुकोण शिर्ष भूमिकामा रहेको यो चलचित्रमा रणवीर सिंह र साहिद कपुर मुख्य भूमिकामा छन् । चलचित्रको रिलिज डेट नोभेम्बरलाई तोकिएको छ ।