भीमदत्तनगर/ पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल
(एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्ट (पोष्टमार्टम) ले देखाएको छ ।
कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताए। ‘शरीरमा भेटिएको गोली शव परीक्षणका क्रममा झिकेर प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ’, प्रहरीनायब महानिरीक्षक देउजाले भने, ‘विधिविज्ञान प्रयोगशालाबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्छ ।’
प्रहरी केन्द्रीय कार्यालयअन्तर्गत रहेको विधिविज्ञान प्रयोगशालाका एक प्रहरी अधिकारीले गौतम हत्याको गोली प्रयोगबारे रिपोर्ट बनाएर सुदूरपश्चिम पठाइसकेको जानकारी दिए। उनले प्रयोगशालाबाट रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताए। शवपरीक्षण रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।