सिरहा/सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा सुखीपुरवासीले बुधबार सिरहाको धनगढीमाई खण्डमा राजमार्ग अवरोध गरेका छन् ।

सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिको नेतृत्वमा मध्यान्ह १२ बजेदेखि २ घण्टा राजमार्ग अवरुद्ध गरेको हो । अवरोधका कारण लामो र छोटो दूरीका सवारी साधन धनगढीमाई क्षेत्रमा रोकिएको थियो । उनीहरुले सुखीपुरलाई नगरपालिका कायम गराउन माग गर्दै आएका छन् । नगरपालिका कायम गर्न माग गर्दै सुखीपुरवासीले आइतबारदेखि नै सुखीपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण गाउँपालिकाको काम प्रभावित भएको छ । उनीहरुले मंगलबार सिरहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार साँझ नगरपालिका कायम गराउन पहल गरिने सहमति भएपछि ताला खोलिएको थियो ।

सरकारले २०७२ असोज १ गतेको निर्णयबाट आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो । तर, स्थानीय तह नयाँ संरचनाअनुसार सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएको थियो । सुखीपुर नगरपालिका बनाइँदा त्यतिखेर सुखीपुर, मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बल्ही र सिलोरबा पिछवारी गाविसलाई समायोजन गरिएको थियो । १० वटा वडाहरु रहेको सुखीपुर नगरपालिकाको केही वडाहरु समायोजन गरी नयाँ संरचनाअनुसार कायम गरिएको अहिलेको गाउँपालिकामा आठ वडा बनाइएको छ ।

सरकारले स्थानीय तहको नयाँ संरचनाअनुसार सिरहामा ६ नगरपालिका र ११ गाउँपालिका कायम गरिएको छ । लहान, सिरहा, गोलबजार, मिर्चैया, कल्याणपुर र धनगढीमाई गरी ६ वटा नगरपालिका कायम गरेको छ । यसअघि कल्याणपुर गाविस थियो । २०७२ असोज १ नगरपालिका घोषित सुखीपुर नगरपालिका नयाँ संरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ भने कल्याणपुर नगरपालिकामा परिणत भएको छ ।

स्थानीय तह नयाँ संरचनाअनुसार कर्जन्हा, सुखीपुर, लक्ष्मीपुर पतारी, बरियारपट्टी, औरही, अर्नामा, भगवानपुर, नरहा, नवराजपुर, सखुवानन्कारकट्टी र विष्णुपुर गरी ११ गाउँपालिका कायम गरिएको छ ।