नेपाल उद्योग वाणिज्य महासंघले भृकुटीमण्डपमा गरेको मेलामा स्वदेशी व्यवसायीका साथै भारत, चीन, बंगलादेश, पाकिस्तान, थाईल्याण्ड लगायतका देशका व्यवसायी सहभागी छन् ।
व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासमा नीजि क्षेत्रको योगदान उल्लेखनीय रहँदै आएको बताए ।
उनले मुलुकमा लगानीको उचित वातावरण अझै नबनेको भन्दै यस्ता मेलाले नेपालमा उत्पादित वस्तुप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण हुने र लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने तयारी सरकारले गरेको जानकारी दिए । उनले आर्थिक विकास र समृद्धिका लागि नीजि क्षेत्रसँगको सहकार्य गर्न सरकार तयार रहेको बताए ।
आर्थिक विकासका लागि आवश्यक ऐन कानुन बनाउने काम सरकारले गरिरहेकाले ढुक्क भएर लगानी गर्न व्यवसायीलाई उनको आग्रह थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले व्यवसायीक कौशलता आदानप्रदान गर्न मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
चैत ७ गतेसम्म चल्ने मेलामा चीनका ८०, बंगलादेशका ३५, पाकिस्तानका २०, भारतका १० र थाईल्यान्डका २ वटा स्टल राखिएका छन् । मेलाको ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजक संस्थाले अपेक्षा गरेको छ ।