विजयपुर/३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री र गायक सपन श्रेष्ठ शुक्रबार छुटेका छन् ।एसएसपी खत्री दुईलाख धरौटि बुझाएर छुटेका हुन भने गायक सपन श्रेष्ठ साधारण तारेखमा छुटेका छन् ।

काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई छाड्न आदेश दिएको थियो ।एसएसपी खत्री र गायक श्रेष्ठ सँगै सुनिल श्रेष्ठ, रोजश शाक्य र मनोज श्रेष्ठपनि अदालतबाट छुटेका छन् ।गायक सपन श्रेष्ठले आफुहरुलाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।

हामीमाथी गलत मुद्धा लगाइएको थियो उनले भने अब यस बिषयमा हामी पत्रकार सम्मेलनपनि गर्ने तयारीमा छौं ।अदालतले अन्य ७ जनालाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सीआईबीले सुन तस्करी काण्डमा ३३ जनाविरुद्ध मुद्धा चलाएको छ, जसमध्ये २१ जना अझै फरार छन् ।सुनकाण्डमा मुछिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थल सुरक्षा प्रमुख एसएसपी खत्रीलाई माघ २३ गते पक्राउ गरेको थियो ।त्यसअघि उनी हेडक्वाटर तानिएका थिए ।

खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो, जसलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।अनुसन्धानका क्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।