अछाम जिल्लाको बयालपाटा अस्पतालमा १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । सुदूरपश्चिमको सेती अञ्चल अस्पताल धनगढीले मात्र यस अघि यो सेवा दिएको थियो । बयालपाटा अस्पताल अछाममा भने पहिलो पटक यस्तो सेवा सुरु भएको हो ।
अस्पतालका डा. विकास गौचनले आई पास नेपालको सहयोगमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा संचालित १२ हप्ता भन्दा बढीको गर्भपतन सेवा सम्बन्धि तालिम लिएर सूचीकृत स्वास्थ्यकर्मी भएसंगै अव यो सेवा बयालपाटा अस्पतालमा सुरु गरिएको बताएका छन् ।
१२ हप्ता सम्मको गर्भपतनलाई मात्र कानुुनी मान्यता दिईएकोमा केहि विशेष परिस्थितीमा मात्र त्यो भन्दा माथिको गर्भ पनि पतन गर्न मिल्ने व्यवस्था कानुनी प्रक्रिया छ । आमा र गर्भमा रहेको बच्चा दुबैको ज्यान जोखिममा रहेमा, हाडनाता करणी तथा जर्वजस्ति करणी बाट बसेको गर्भ छ भने सूचिकृत चिकित्सकले मात्र १२ हप्ता माथिको भर्ग पनि पतन गर्न सक्ने व्यवस्था कानुनमा छ । १२ हप्ता माथिको गर्भपतन निकै जोखिमपूर्ण मानिन्छ ।
१२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा संचालनमा आएसंगै अछाम लगायतका छिमेकी जिल्लाहरुका बिरामीहरुलाई सेवा लिन सहज भएको हो ।