धरान/कञ्चनपुरको आन्नद वजार स्थित नेपाली भुमीमा वनाइएको कल्भर्टको विवादमा सहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको मंगलबार तेह्रौ पुण्यतिथीको अवसरमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता लगायत स्थानियहरुले विभिन्न ठाउँमा श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।
देशको सीमा रक्षार्थ भारतीय एसएसबीले हानेको गोली लागी मृत्यु भएका शहीद गोविन्द गौतमको फोटोमा माल्र्यापण गर्दै कृषिमन्त्री गौरीशंकर चौधरीले देशको सीमा रक्षार्थ ज्यान गुमाएका शहीद गौतमको परिवार लगायत उनका वालवच्चाको शिक्षा दिक्षाको समेत सरकारले ग्यारेन्टी गरीसकेको बताउँदै सरकारले घोषणा गरेका सम्पुर्ण सुविधाहरु चाँडै नै सहिद परिवारलाई दिइने बताए ।
माओवादी केन्द्रका नेतासमेत रहेका कृषिमन्त्री चौधरीले माओवादी केन्द्रकाे तर्फबाट शहीद परिवारका लागि तत्काल ६ लाख रुपैयाँ राहत उपलब्ध गराउने जानकारी दिए ।
कार्यक्रम पश्चात घटना स्थलको स्थलगत निरीक्षण गरी शहीद तथा घाइते परिवारलाई भेटेर उनी फर्किएका छन् ।
कार्यक्रममा मन्त्रि चौधरीले सीमा विवादमा घाइते भएकाहरुको सम्पुर्ण खर्च राज्यले व्यहोर्ने आश्वान दिदै सरकारले छिट्टै घटनाको छानविन समेत गर्ने बताए ।
सीमा विवाद समाधान समन्वय समितिका अध्यक्ष कृष्ण तामाङले मन्त्री चौधरी समक्ष ५ बुँदे मागपत्र पेश गर्दै शहीद गौतमलाई सरकारले अन्य पार्टीका काममा शहीद हुने तथा अन्य सानातिना कुरामा शहीद घोषणा गरिएकाहरु सरह राख्न नहुने बताए ।
उनले नेपालको वास्तविक सीमा छुट्याएर शसस्त्र प्रहरीले निरन्तर सुरक्षा गर्नुपर्ने, घाइते हरुको उपचारमा सरकारले ध्यान दिनुपर्ने, सहिद परिवारलाई उचित व्याबस्थापन गरिनु पर्नेमा जोड दिएका थिए ।
सीमा नाकामा हुने गरेका यस्ता घटनाले देशमानै असर पार्ने भएकाले खुल्ला नाकामा सीमा प्रहरी पोष्ट राख्नुका साथै हराएको २०० नम्वर पिल्लरको खोजी गर्नुपर्ने स्थानीय शिव अर्यालले बताए ।
यदि सरकारले यसतर्फ ध्यान नदिए स्थानीय सीमा सुरक्षा संघर्ष समीतिले अझै जोडदार आन्दोलन गर्ने अर्यालले बताएका छन् ।