काँकडभिट्टा / झापाका ११ सय ६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २ सय ६५ जना, हात तथा स्तन सुन्निएका १ सय १ र अण्डकोष सुन्निएका ८ सय जना हात्तीपाइलेका सङ्क्रमित छन् । यस वर्ष सात लाख ३३ हजार नागरिकलाई यही चैत १७, १८ र १९ गते जिल्लाभर हात्तीपाइले विरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यसका लागि करीब १८ लाख ५० हजार डिइसी र आठ लाख ५० हजार थान एलेन्डालोज ट्याब्लेट वितरण गरिने जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिए । औषधि खुवाउन जिल्लाभर ३७ सय ८६ स्वयम्सेवक र ४ सय स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ । जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले हात्तीपाइले विरुद्धको औषधि सेवनका विषयमा सर्वसाधारणमा भ्रम रहेकाले भ्रममा नपरी निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरेका छन् । उनले वर्षैपिच्छे लगातार छ पटकसम्म औषधि सेवन गरे मानिसको शरीरबाट हात्तीपाइलेको परजीवी समाप्त हुने र सर्ने सम्भावना न्यून हुने बताए । हात्तीपाइलेको औषधि ७० वर्ष कटेका, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो र मिर्गौला रोगी तथा छारे रोगीले सेवन गर्न नहुने उनले बताए ।