काँकडभिट्टा/ चालू आर्थिक वर्षको चार महिनामा क्षयरोगका कारण झापामा ६ जनाको मृत्यु भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत प्रमोद दाहालका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा क्षयरोगका कारण पाँचजना महिला र १२ जना पुरुषले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा ३८० महिला र ७०६ पुरुष गरी एक हजार ८६ जना मानिस क्षयरोगको उपचारका लागि दर्ता भएका थिए । नेपाल सरकारले क्षयरोगीको उपचारका लागि निःशुल्क सेवा प्रदान गर्दै आएको छ । क्षयरोगीले नियमित रूपमा औषधि सेवन गरे ६ देखि ८ महिनामा यो रोग निको हुन्छ । पहिलो चरणको उपचार पूरा गर्दा पनि निको नभएका रोगीको हकमा नेपाल सरकारले ५ सय रुपैयाँ पोषण भत्तासमेत उपलब्ध गराएर दोस्रो चरणको उपचार पद्धति अपनाउने गरेको अधिकृत दाहालले जनाए । क्षयरोगी बढी भएका जिल्लाहरूमध्ये झापा देशकै प्रमुख १० जिल्लाभित्र पर्दछ । झापाका क्षयरोगी बढी हुने स्थानमा दमक, मेचीनगर, सुरुङ्गा, अनारमनी, भद्रपुरलगायत १५ वटा स्थान छन् । नेपालमा हरेक वर्ष ५ देखि ७ हजार मानिसले क्षयरोगको कारणले ज्यान गुमाउने गरेका छन् । नेपालको कुल जनसङ्ख्याको ४५ प्रतिशत मानिसहरू क्षयरोगबाट सङ्क्रमित छन् । हरेक वर्ष ४० देखि ४५ हजार क्षयरोगी थपिने गरेका छन् ।