उपचारका लागि भर्ना भएकी गर्भवतीको मृत्यु भएपछि बुटवलमा तनाव भएको छ । महिलाका आफन्तहरुले चिकित्सकको लार्पवाहीले मृत्यु भएको भन्दै दोषिलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका छन् । बुटवल–११, न्यु दुर्गानगर निवासी २७ वर्षिया मिना बुढामगरको हिजो बेलुकी अस्पतालमा मृत्यु भएको थियो । मृतकका श्रीमान कुल बहादुर बुढाले सामान्य अवस्थामा रहेकी श्रीमतीको अस्पतालमा कार्यरत चिकित्सकहरुको लापरबाहीका कारण मृत्यु भएको बताए ।

अस्पतालले मृत्यु भएकी श्रीमतीको शव समेत हेर्न नदिएको बुढाले बताए । महिलाका आफन्तहरुले आज बिहानैदेखि अस्पतालमा धर्ना दिएका छन् । अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालले भने सुत्केरीको रेखदेख हँुदाहुँदै मृत्यु भएको जनाएको छ । अस्पतालका प्रवक्ता लक्ष्मिराज रेग्मीले चिकित्सकको लार्पबाही नभएको दाबी गरे ।