काभ्रे/ पनौती नगरपालिका– १२ खोपासीका ५३ वर्षीय कृष्णदास उलकले च्याउखेती सुरु गरेको झन्डै ३० वर्ष भयो ।
सुरुमा च्याउको बजार नभएका कारण उनले व्यवसायिकता दिन सकेनन् । हाल उलकले च्याउखेतीबाटै वार्षिक १० लाख आम्दानी गर्दै अाएकाे छ ।
“च्याउखेती गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ,” उनले भने । हाल १० वटा टनेलमा च्याउखेती गरेर उनले १० जनाको परिवारको खर्च धान्दै अाएकाे भने ११ जनाले रोजगारी समेत पाएका छन् ।
उलकले पाँच रोपनी जग्गामा च्याउखेती गर्दै अाएकाे छ । युवा अवस्थादेखि नै अन्य जागिर छोडेर उनले च्याउखेती सुरु गरेकाे हो । परिवारसँग बसेर व्यवसाय सञ्चालन गर्दा निकै आनन्द आएको उनले बताए ।
“च्याउखेती गरेकै छोराहरुले समेत रोजगारी पाएका छन्” उलकले भने । उनले कन्या जातको उत्पादन गरेकाे छ । सुरुमा उनले २० हजार लगानीमा च्याउखेती सुरु गरेकाे हो । यथेष्ट आम्दानी हुन थालेपछि उलक व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका हुन् ।
“जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराए च्याउखेती गर्न थप उर्जा मिल्ने थियो,” उनले भने । सुरुवातमा उनले च्याउ खेतीसम्बन्धी किताब पढेर व्यवसायको थालनी भएकाे थियो ।
उनले ‘जय हारती माँ’ नामक उद्योग सञ्चालन गरी अहिले मासिक ३० हजार किलो च्याउ उत्पादन गरेर बनेपा बजारमा बिक्री गरिरहेकाे छ ।
रासस