दोलखा/ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतना तथा महिला सशक्तीकरण नेतृत्व विकास विषयक दुई दिने तालिम सदरमुकाम चरिकोटमा सुरु भएको छ ।
युएस आइडी र एसियास फाउन्डेसनको सहयोगमा कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)ले यहाँका २० महिलालाई दुई दिने तालिम आयोजना गरिएको हो ।
ती संस्थाले भूकम्पपछि यहाँका ग्रामीण भेगमा मौलाएको मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणका लागि गाउँगाउँमा अभियानको रुपमा तालिम सञ्चालन गर्न लागेका हुन् ।
नागरिक समाज जिल्ला अध्यक्ष दीपशङ्कर चौलागाईंले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आम नागरिकलाई सचेत पार्नु अपरिहार्य भएकाले आफूहरुले यो अभियानमा सारथीको भूमिका निर्वाह गर्ने बताए ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले अहम् भूमिका निर्वाह गरी रहेकाले प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले जोष् दिए ।
प्रशिक्षकद्वय रेखा तुलाधर अनिता न्यौपानेले महिला बेचबिखनबाट अहिले मानव बेचबिखनसम्म आइरहँदा स्क्रिन सर्जरीका लागि नेपाली मानवको छाला विदेशमा बेच्न गिरोह सक्रिय भएकाले नियन्त्रणका लागि सरकारले नयाँ योजनाका साथ कार्यक्रम लिएर ग्रामीण भेगका दूरदराजमा पुग्न आवश्यक रहेको बताए ।
रासस