रामपुर/ रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उनले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गरेका हुन् । विगत तीन वर्षयता उनले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएकाे छ ।
किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा विभिन्न सामग्री सहयोग गरेपछि उनले तरकारी खेती गर्ने अठोट गर्दै व्यवसाय चलाए । आफ्नै १२ रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाए ।
उनले आधुनिक प्रविधिबाट प्लास्टिक टनेलभित्र काँक्रो, घिरौँला, बोडी, सिमी, लौका, फर्सी जातका तरकारी लगाए । तरकारी बिक्रिबाट मासिक रु २० हजारदेखि रु ३० हजार आम्दानी गर्ने गरेको पाण्डेले बताए ।
“जागिरमा अर्काको बन्धनमा बाँधिनुपर्ने, व्यवसायले समाजमा नाम र दाम दुवै मिलेको छ,” उनले भने । बिक्री गर्न बजारको समस्या नभएको उनको भनाइ छ । बर्सेनि जग्गा विस्तार गरी व्यवसाय बढाउँदै लैजाने उनको सोच छ । बेमौसमी जातका तरकारीले बजारमा उचित मूल्य पाएपछि मौसमीभन्दा पनि बेमौसमी जातका तरकारी उत्पादनमा जोड दिएको पाण्डेले बताए ।
तीन वर्ष अगाडिबाट व्यवसाय सुरु गरेका पाण्डे अहिले यस क्षेत्रकै अगुवा कृषकका रुपमा चिनिन्छन् । यहाँ उत्पादन गरिएको तरकारी रामपुरको बेझाड तथा चापाकोट बजारमा बिक्री गर्दै आएको उनले बताए। थोरै लगानीमा घरमै बसेर मनग्य आम्दानी लिन सकिने हुँदा अरुलाई पनि तरकारी व्यवसाय गर्न पाण्डेले सल्लाह दिँदैआएका छन् ।