काठमाडौं । मेलम्चीको पानी असोज महिनामा काठमाडौंमा आउँला त ? मेलम्चीको सुरुङ खन्दै आएका श्याम दाहालले भने, ‘बोतलमा ल्याउनु भएको छ ? लिएर जानुस्, आजै पुग्छ ।’ दाहालको ठट्यौली शैलीको यो जबाफमा मेलम्ची आयोजनाको यथार्थ लुकेको छ । असोजमै राजधानीबासीलाई दसैंको उपहारस्वरुप पानी दिने खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शहीको भनाइभन्दा मजदुर दाहालको भनाइमा बढी यथार्थ झल्कन्छ । दिन-रात पसिना बगाएर एक-एक इन्च सुरुङ लम्ब्याउँदै गरेका मजदुर राजधानीमा पानी पुर्‍याउन अझै केही समय पर्खिनुको विकल्प नरहेको सुनाउँछन् । उनीहरु मन्त्रीले भनेजस्तो आगामी असोजसम्ममा राजधानीमा मेलम्चीको पानी पुग्नेमा ढुक्क छैनन् । सुरुङ मार्गको काम अझै करिब ४ किलोमिटर बाँकी भएकाले असोजमा मेलम्ची राजधानी आउने सम्भावना कमजोर बनेर गएको छ ।