‘प्रेम’ अर्थ र गहिराइ कति छ, सायद आजसम्म मापन हुनसकेको छैन । हाम्रा बाबुबाजेले समाजबाट लुकेर लाएको पिरती (प्रेम)ले घर बस्थ्यो, सुन्दर परिवार बन्थ्यो, समाजमा उनीहरु नमुना देखिन्थे ।

साँच्चीकै त्यसबेलाको पिरतीमा समर्पण, भाव र विश्वास थियो, सायद त्यही भएर होला त्यसबेलाका रचनाकारहरुले प्रेमको भावहरुलाई शब्द–शब्द जोडेर एउटा नयाँ भाव बनाउँथे ।

त्यसबेलाको प्रेमको बास आत्मामा हुन्थ्यो, मुटुमा हुन्थ्यो, त्यही भएर होला आज पनि हामी नयाँ प्रेमका संगीत र रचनाभन्दा पनि पुरानै रुचाउँछौं, सुन्छौं अनि गाउँछौं । आजकलको प्रेममा भने केही नयाँपन देखिन थालेको छ ।

उबेला लगाएको प्रेम जुनी जुनीका लागि हुन्थ्यो भने अहिलेको पिरती केहीक्षणमै सकिन्छ, कुरा नलुकाई भन्ने हो भने त आजकलको प्रेम ‘कुनै एउटा होटलमा हजार रुपैयाँ तिरेर केहीघण्टाका लागि लिइएको कोठाको ओछ्यानसम्म मात्र हुन थालेको छ । भनिन्छ, प्रेम गर्नेहरु आफूबाहेकका दुनियाँलाई देख्दैनन् । त्यही भएर होला घरमा वैंशले धपक्क बलेकी श्रीमती हुँदाहुँदै पनि धेरै श्रीमान्हरुले बाहिर छुट्टै प्रेमिका राख्ने गरेका छन् । विभिन्न घटनाक्रमले यी कुरालाई पुष्टि पनि गरिरहेको छ ।

श्रीमान् मात्र हैन, आजकल त श्रीमतीहरुको पनि बाहिर अलग्गै प्रियतम्हरु बनाउन थालेका छन् । एउटा कलेज पढ्ने युवकले कतिजना युवतीलाई प्रेमिका बनाएको छ पत्तो पाउनै मुस्किल छ, युवतीहरुको पनि चाला उही हो कतिजना प्रियतम्हरु छन् पत्तै हुँदैन ।

सायदै प्रेमका कुनै कुनै प्राविधिकपक्षहरु नमिलेर हुनसक्छ, श्रीमतीहरुले श्रीमान्लाई होटलमा अर्कै प्यारीसँग रासलीला गरिरहेको अवस्थामा भेट्ने गरेका छन् भने श्रीमतीहरु पनि होटलका कोठामा अर्को प्रियतम्सँग चरमसुख लिइरहेको बेला फेला पर्ने गरेका छन् । प्रेमी र प्रेमिकाहरुको त कुरै छाडौं, होटलका कोठाहरुमा सल्बलाउँदै गर्दा प्रायः दिनहुँ प्रहरीले डिस्टर्व गरिरहने (होटलमा छापा मारेर नियन्त्रणमा लिने)गरेका छन् ।

पछिल्लो दुई महिनाका केही घटनाहरुलाई उदाहरणको रुपमा हेर्न सकिन्छ । आजभोलिको प्रेमको विश्वास हुनछाडेको छ, विश्वास भई नै हाले पनि भरपर्दो हुनछाडेको छ । करिब दुईमहिना अगाडि झापामा घाँस काट्न गएकी बुहारीलाई प्रहरीले होटलको कोठाबाट प्रहरीले नियन्त्रणमा लिएर ससुराको जिम्मा लगाएर पठायो । रोजगारीका लागि विदेशिएको छोराको इज्जत बचाउन पनि ससुराले आफ्नी बुहारीलाई परपुरुषको अंगालोबाट खोसेर ल्याए । मोरङको पथरीमा पनि यस्तै एउटा घटना घट्यो । एउटा वित्तीय संस्थाको म्यानेजरलाई प्रहरीले एक होटलबाट झापा घर भएकी एक युवतीसँग समात्यो, पछि श्रीमती बोलाएर श्रीमान् जिम्मा लगाएर पठायो ।

केही समयअघि धरानको नाम चलेकै सरकारी स्कुलका विद्यार्थीबीच ग्याङफाइट नै चल्यो । कारण थियो दुईजनाकी एउटी प्रेमिका । घटनाको रहस्यापछि खुल्यो । कक्षा १० मा पढ्ने एक छात्राले दुवैजनासँग प्रेम गरेकी थिइन् । जब यो कुरा दुवै प्रेमी (छात्र)हरुले थाहा पाए, त्यसपछि दुवैले आफ्नी प्रेमीका हो भनेर दाबी गर्न थालेपछि घटनाले ग्याङफाइटसम्मको अवस्था सिर्जना गर्यो । यी घटनाहरुलाई उदाहरण लिएर के बुझ्न सकिन्छ भने आजकलको प्रेम क्षणिक हुने गरेको छ । अर्थात् लफडामा पर्ने गरेको छ ।