काठमाडौँ/ महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै युवाले सडकमा प्रदर्शन गरेका छन् ।
युथ एड्भोकेसी नेपाल (यान)ले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनीमा सहभागी युवाले ‘महिलाहरू सडकमा जिस्काइ माग्न हिँडेका होइनन्’, ‘सार्वजनिक स्थल सुरक्षित गरौँ’ र ‘युवाले सडक दुव्र्यवहार रोक्न सक्छन्’ लगायतका प्ले कार्ड बोकेका थिए ।
युवाले दिउँसो करिब ३० मिनेट प्रदर्शन गरेका हुन् । यानले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।
सोही अवसरमा यानका अध्यक्ष नरेन खतिवडाले भएका ऐन-कानुनको कार्यान्वयनसँगै महिलामाथि सडकमा हुने दुव्र्यवहारसम्बन्धी छुट्टै कानुन निर्माण गर्नुपर्ने बताए।
अभियानकर्मी विकास केसीले खासगरी सडकमा महिलामाथि हुने हिंसा अन्त्यका लागि युवा नै सक्रिय हुनुपर्ने धारणा राखे ।