धरान/नागरिकता बाड्ने अधिकारीको लापरबाहीको कारण कानेपोखरी गाउपालिका–१ हरकपुरको एक मुसहर परिवार नागरिकता लिनबाट बन्चित बनेको छ ।
तत्कालीन बयरवन–३ हरकपुरका रामकिशन ऋषिदेवको छोराछोरीहरुले नागरिकता लिनबाट बन्चित बनेका हुन् । उनको बुबा सन्तलालको बंशजको आधारमा नागरिकता दिएको भए पनि उनको नागरिकता भने जन्मको आधारमा बनाइदिएको कारण अहिले उनको छोराछोरी नागरिकता लिनबाट बन्चित बनेका छन् । सन्तलालले ५ फागुन २०४६ मा बंशजको आधारमा नागरिकता लिएको देखिन्छ ।
तर, छोरा रामकिशनले ३० जेठ २०६४ सालमा नागरिकता लिदा जन्मको आधारमा दिएको देखिन्छ । त्यही कारण अहिले उनले आफ्नो तीनजना छोराछोरीहरुको नागरिकता लिन सकेका छैनन् । गाविसबाट सबै कागजात बनाएर लगे पनि इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङले नागरिकता नदिएको श्रीमती माया ऋषिदेवले बताइन् ।
‘कागजात सबै बनाएर लगे, तर, जन्मको आधारमा नागरिकता दिन मिल्दैन भनेर भन्छ ।’ उनले ब्लाष्टकर्मीसँग दुखेसो पोख्दै भनिन् । मायाको नागरिकता भने बंशजको आधारमै दिइएको छ । उनले २० असार २०७० सालमा नागरिकता लिएकी हुन् । संविधानले आमाको नामबाट पनि नागरिकता दिने सक्ने प्रावधान बनाएको छ । तर, उनले आफ्नो नामबाट बनाउने प्रयास गर्दासमेत नदिएको उनले बताइन् ।
‘मेरोबाट बनाइदिन खोजे, तर, हुदैन भन्यो ।’ उनले भनिन् । यसका लागि उनले गाउ“को जान्ने बुझ्नेलाईसमेत लिएर जाँदासमेत नदिएको बताइन् । नागरिकता नहुँदा अहिले उनको छोराले न त अध्ययन गर्न नै पाएका छन् । न त अन्य कामको लागि अवसर नै प्राप्त गरेका छन् । ‘गरिवलाई त जता पनि हेप्दो रहेछ ।’ रामकिशनले भने, ‘पैसा दिए त हुन्थ्यो होला । हामी गरिवले कहाँबाट पैसा ल्याएर दिने ।’
उनको परिवार हरकपुरमा बसेको झण्डै ५० वर्ष भन्दा बढी भयो । नागरिकता दिने अधिकारीहरुको कारणले आफूले दुःख पाएको त्यो परिवार बताउछ । यता इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख पुरुषोत्तम घिमिरेले टोलीमा नागरिकता लिएको बेलामा बुबाको नागरिकता पेश गर्न नसकेको कारणले जन्मको आधारमा दिएको हुन सक्ने बताए । उनले टोलीमा खटिएका प्रमुखहरुले त्यो बेलामा बुबाको नागरिकता हेक्का नराखेले पनि त्यस्तो भएको हुन सक्ने अनुमान लगाए ।
‘अव नागरिकताको किसिम संसोधनमार्फत् गए मात्रै छोराले नागरिकता पाउने सम्भावना छ । नत्र जन्मको आधारमा संसोधन नभएइञ्जेलसम्म पाउन गाह्रो छ ।’ उनले फोनमा भने । आमाको नागरिकताबाट पाउने व्यवस्था भएको विषयमा जिज्ञासा राख्दा उनले ‘संविधानले लेख्दैमा नागरिकता पाउने होइन्, ऐनमा लेखिएको छैन्’ भन्दै ओठे जवाफ फर्काए । यस विषयमा प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाले सहायक प्रमुख जिल्ला अधिकारी ओम बस्नेतले हेर्ने बताए ।
सहायक प्रजिअ बस्नेतले जन्मको आधारमा बनेको नागरिकताको विषयमा अहिले लडाई चलिरहेको बताए । ‘जन्मको आधार भएको व्यक्तिको आधारमा नागरिकता दिन सकिदैन् । टोलीमा बुबाको नागरिकता देखाउन नसकेको कारणले जन्मको आधारमा नागरिकता दिएको हुन सक्छ ।’ उनले भने, ‘प्रजिअसँगै बुझेर मात्रै आफूले निर्णय दिन सक्छु ।’