धरान /  सरकारले चोर बाटोबाट सवारी ऐन संशोधन गरेर चालकहरुलाई जन्मकैद सजाय हुने प्रावधान ल्याउन लागेको भन्दै नेपाल यातायात स्वतत्र मजदुर संगठनले ध्यानाकर्षण भएको जनाएको छ । शनिबार ईटहरीमा आयोजित टेम्पो तथा म्याजिकमा काम गर्ने मजदुरहरुको भेलालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय महासचिव भीमज्वाला राईले जस्तो सुकै दुर्घटनामा कसैको ज्यान गए चालकलाई विस वर्ष कैद(जन्मकैद)ं कानुन ल्याए त्यसको प्रतिबाद गर्ने चेतावनी दिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनकै क्रममा रहेको अवस्थामा सरकारले चोरबाटो बाट ऐनको दफा १६१ मा रहेको ज्यान मरेमा हुने सजायलाई मात्र अर्कै विद्येयकबाट संशोधन गरि चालक फसाउने षडयन्त्र गरेको उनको भनाई थियो । भवितव्य र अरुकै लापरवाहीबाट हुने दुर्घटनामा पनि चालकलाई जेलहाल्ने गरी कानुन ल्याउने न्यायसंगत नहुने उनले बताए । सरकारलाई लिखित सुझाव दिईसकिएको र संसदहरु मार्फत संशोधनको प्रस्तावसमेत दर्ता गरिसकिएकाले सुझावहरु समावेस नगरी कानुन ल्याए कानुनकोप्रति जलाएर देशभरीका यातायात मजदुरहरु काम छाडेर सडक संघर्षमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । ईटहरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने टेम्पो तथा म्याजिक भ्यानमा कार्यरत मजदुरहरुको भेलाले गणेश साहको अध्यक्षतामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पो म्याजिक ईकाई कमिटी ईटहरी गठन गरेको छ । ईटहरी स्थित तालतलैयामा शनिबार सम्पन्न भेलाले कमिटीको उपाध्यक्षमा दिपक खड्का, सचिव लक्ष्मीप्रसाद घिमिरे र कोषाध्यक्षमा आत्मराम चौधरीलाई चयन गरेकोछ । सदस्यहरुमा जितवहादुर कार्की, तिलकवहादुर कार्की, पुन्टुलाल चौधरी, विर्खराज श्रेष्ठ, सन्तोष काफ्ले, हरिहर महतो र जवाहर साह रहेका छन् । भेलामा केन्द्रीय उपाध्यक्ष भक्त लामा, केन्द्रीय सदस्य सन्तोष खड्का, कोशी अध्यक्ष गौरी लामा, उपाध्यक्ष लक्ष्मी बांनियालगायतको उपस्थिति रहेको थियो ।