सङ्खुवासभा/ मकालु त्रिशक्ति समेह माट्स नेपाल खाँदबारीको संरक्षणमा रहेको बालकहरु हराएपछि खोजी कार्यमा सहयोग गर्न पत्रकारहरुसँग अनुरोध गरेको छ । केहि दिनदेखि हराईरहेको बालकहरु अझै फेला नपरेपछि पत्रकार सम्मेलन गरि खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको हो ।
गत फागुन २६ गतेदेखि ११ बर्षिय बिक्रम तामाङ र ९ बर्षिय पुजन खड्का हराईरहेको तर हालसम्म फेला नपरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । बालकहरु हराएदेखि विभिन्न निकाय तथा सम्बन्धीत सवैमा सहयोगको लागि अनुरोध गरेपनि हालसम्म फेला पार्न नसकिएको बताईएको छ ।
मोरङको हरैंचा घर बताउने ११ वर्षीय विक्रम तामाङ बेवारिसे अवस्थामा फागुन ६ गते सदरमुकाममा भेटिए । आमाबाबुको नाम प्रस्ट बताउन नसक्ने तामाङलाई प्रहरीले बालगृहमा राखेको थियो ।
आपतकालीन संरक्षण गृह (ट्रान्जिट होम) भनेर तामाङलाई त्यहाँ राखिएको गृह सञ्चालकले जनाएका छन् । फागुन ६ मा गृहमा आएका तामाङसँग चञ्चले स्वभाव भएका पुजनको मित्रता बढ्यो ।
‘गृह सञ्चालकले पटक–पटक सोध्दा तामाङले फरक–फरक जवाफ दिन्थे,’ माट्सका कार्यवाहक अध्यक्ष प्रवीण राईले भने, ‘कहिले गाडीमा काम गर्छु, कहिले त्यसै घुमफिर गर्छु, मेरो कोही छैनन् भन्थे ।’ फागुन २६ गते पानी लिन गएका दुवै हराएका हुन् ।
‘बेलुकीसम्म नफर्केपछि खोजी गरियो,’ कावा अध्यक्ष राई भन्छन्, ‘भेटिएन, प्रहरीलाई मौखिक जानकारी गराउने काम भयो । अहिलेसम्म भेटिएका छैनन् । हाम्रोतर्फबाट खोज्ने प्रयास भइरहेको छ, प्रहरी प्रशासनमा पनि लिखित जानकारी दिइसकेका छौं ।’ पुजन मकालु बोर्डिङमा कक्षा २ मा पढ्थे ।
प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले हराएका दुवै बालकको तस्बिर छिमेकी जिल्लासहित अन्य जिल्लामा पठाइसकिएको बताए ।