सुनसरी/ खोटाङको जल्लेश्वरी स्थित चिमसारा जुगेपानी वाहुनी खर्क सामुदायिक वनमा लागेको आगोको कारण बावियोखर्क पूर्ण रुपमा जोखिममा परेको छ ।
शनिबार राती देखि लागेको आगो नियन्त्रणमा नआउँदा त्यहाँका सर्वसाधरणहरु त्रसित बनेका छन् । बाबियोखर्क नजिकै रहेको काउले गाउँको ३ वटा घर जलेर नष्ट भएको छ भने १ जना मानिस घाईते भएका छन् ।
बाबियोखर्कको स्थानीयवासी निरकुमार पुरीले आफ्नो फेसबुक मार्फत गाउँ पूर्ण रुपमा जोखिमपूर्ण भएको बताएका छन् । धेरै हावा चलेको कारण आगो नियन्त्रण हुन नसकेको कारण पुरीले फेसबुक मार्फत लेखेका छन् ।
अहिले बाबियोखर्कमा रहेको मनिराम पुरी,मट्याग्रीको घर सम्म आगो पुग्न आटेको स्थानीयवासीहरुले बताएका छन् । स्थानीय हिराकाजी पुरीले आगो गाउ पस्न थाले पछि घरखाली गराउँन थालेको बताए ।
बाबियोखर्ककी स्थानीय गोमा पुरीले आगोलागीका कारण पुरा गाउँ भागाभाग भएको बताईन् । आईतबार विहानै देखि तिब्र हावा चल्दा गाउँ पूर्ण जोखिममा भएको उनको भनाई थियो ।
विहान केहि सेना आए पनि अहिले आगो नियन्त्रण भन्दा बाहिर गएको उनको भनाई थियो । गाउँमा पानीको हाहाकार भएको कारण समेत आगो नियन्त्रणमा आउँन नसकेको हो । गाउँ भरका सर्वसाधरणहरुले अहिले घर खाली गरीरहेका छन ।
प्रहरीको भूमिका शनिवार दिउँसो देखि आगलागी भएको खवर प्रहरीलाई पुगे पनि इलाका प्रहरी कार्यलय एसेलुखर्कको भुमिका कम भएको स्थानीयवासीहरुले आरोप लगाएका छन् । आगो नियन्त्रण गर्ने प्रहरीले राम्रो भुमिका नखेलेको कारण पनि आगो नियनत्रणमा आउँन नसकेको हो ।
स्थानीय स्तरमा वारुणयन्त्र तथा आगो निभाउँने यन्त्र नहुदा जंगल हुदै आगो पुरै गाउँ परेको भए पुगेको प्रहरी पनि इलाका प्रहरी कार्यलय फर्केको स्थानीयले वताएको छन । एसेलुखर्कबाट त्यहाँ सम्म पुग्न करीब ३ घण्टा पैदल हिड्नु पर्छ ।