कोलकाता/अन्धविश्वासका कारण भारत, पश्चिम बंगालमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार पश्चिम बंगालको पुरुलिया जिल्लामा कथित एक तान्त्रिकले देवीको मूर्तिसामू आफ्नै आमाको बली चढाएका हुन् ।
प्रहरीले हत्या अभियोगमा ३५ वर्षीय नारायण महतोलाई पक्राउ गरेको छ ।
उनले आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आफूलाई तान्त्रिक भन्ने नारायणले सपनामा देवीले दिएको सल्लाह अनुसार आमाको बली चढाएको स्वीकार गरेका छन् ।
नारायणले धारिलो हतियार प्रयोग गरी घाँटी काटेर आमाको हत्या गरेका हुन् । घटनालगत्तै हतियारसहित दाजुको घर पुगेर नारायणले आमाको बली चढाएको बताएका थिए ।
प्रहरीका अनुसार नारायणले देवीको मूर्तिसामू आफूले आमाको बली चढाएको स्वीकार गरेका छन् । देवीले सपनामा आफूलाई आमाको बली चढाउन आदेश दिएको पनि उनले प्रहरीसमक्ष जनाएका छन् ।
छिमेकीहरुका अनुसार नारायण तान्त्रिक विद्यामा लागेका थिए । उनले घरमै काली देवीको मन्दिर बनाएका थिए । उनी विभिन्न प्रकारका तान्त्रिक क्रियामा लाग्दै आएको छिमेकीहरुको भनाइ छ ।