ताप्लेजुङ/ पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ ।

दिउँसो करिव १ बजे हिलिहाँङ गाउँपालीका–७ ९साविकको सुबाङ गाविस–२० को सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ ।

आगलागीबाट स्थानीय ईन्द्र बहादुर पन्दाक, राजकुमार पन्दाक, चन्द्र चापागाई लगायतका आठ घर जलेर नष्ट भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए ।

अचानक जंगलबाट सल्किएको आगोले ठुलो रुप लिदा नजिकै रहेको घरमा सल्किएको र हावा हुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको डिएसपि पोख्रेलको भनाई छ ।

अहिले अन्य नजिकैका घर भित्रको सामान निकाल्ने र घरको छानामा बसेर जोगाउने बाहेक अन्य प्रयास हुन नसकेको घटना स्थलमै रहेका डिएसपी पोख्रेलले टेलिफोनमा भने । आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङसहित जोरपोखरीबाट नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।

आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ ।

आगो जंगलबाट सल्किएकाले कसले सल्काएको भन्ने जानकारी नभएको स्थानीयले बताएका छन् । जंगल भित्र बाटो भएकाले पैदल यात्रीको असाबधानिका कारण आगलागी भएको हुन सक्ने स्थानीय सन्तोस खनालले बताए ।