ताप्लेजुङ / पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ ।  आगलागीबाट स्थानीय ईन्द्र बहादुर पन्दाक, राजकुमार पन्दाक, चन्द्र चापागाई लगायतका आठ घर जलेर नष्ट भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले बताए । दिउँसो करिव एक बजे हिलिहाँङ गाउँपालीका-७ (साविकको सुबाङ गाविस-२) को सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको हाे ।

केहि घर बसाई सरी गएकाले घर धनीको नाम खुल्न सकेको छैन भने अन्यको विवरण संकलन गर्ने काम भईरहेको छ  । अचानक जंगलबाट सल्किएको आगोले ठूलाे  रुप लिदा नजिकै रहेको घरमा सल्किएको र हावा हुरी चलिरहेकाले नियन्त्रण बाहिर गएकाे बताइएकाे छ  । अहिले अन्य नजिकैका घर भित्रको सामान निकाल्ने र घरको छानामा बसेर जोगाउने काम भइरहेकाे छ । आगो नियन्त्रणका लागि सदरमुकाम फुङ्लिङसहित जोरपोखरीबाट नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेको छ । आगलागी भएको स्थानमा दमकल लैजान सक्ने सडक नभएकाले आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएकाे छ । आगो जंगलबाट सल्किएकाले कसले सल्काएको भन्ने जानकारी नभएको स्थानीयले बताएका छन् । जंगल भित्र बाटो भएकाले पैदल यात्रीको असाबधानिका कारण आगलागी भएको हुन सक्ने स्थानीय सन्तोस खनालले बताए ।