काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन् ।
उनले दिएको शुभकामना सन्देशमा भनिएको छ – अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग हो । विगत एधार वर्ष के कसरी विते ? यो अवधिमा के– के भए ? यस अवधिमा तमाम नेपाली दिदीबहिनी दाजुभाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सूधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस्, त्यो यतिखेर सोचनीय विषय हो ।’ शक्ति सन्तूलन असन्तूलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको आरोपसमेत उनले लगाए ।