धरान/‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहित स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष’ अभियान सुरु गरेको छ।स्वास्थ्य मन्त्रालयले पाँच वटा प्रतिबद्दतासहित सुरु गरेको अभियानको नयाँ बर्षको अवसर पारेर शुक्रबार काठमाडौँको दशरथ रंगशालाबाट सुरु गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झण्डोत्तलन र मंगलधुनका साथ अभियान आरम्भ भएको घोषणा गरेका थिए ।
अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हरेक नागरिकलाई स्वस्थ रहनका लागि खानपान र जीवनशैलीमा ध्यान दिन आग्रह गरे । उनले आफू पनि स्वस्थ जीवनशैलीका लागि प्रतिबद्ध रहने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा, बन मन्त्री शंकर भण्डारी, उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायत हजारौं, बलिउड स्टार मनिषा कोइराला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले जीवनशैलीमा र खानपानमा सुधार गर्दा हजारौं व्यक्तिको जीवन स्वस्थ हुनुका साथै व्यक्तिगत र राष्ट्रको अरबौं रकम जोगिने भन्दै सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आह्रवान गरे।
मन्त्री थापासँगै कार्यक्रममा उपस्थित हजरौँले एकैपटक ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भन्ने पाँच वटा प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य सचिव डा। सेनेन्द्रराज उप्रेतीले नेपालका अस्पतालमा भर्ना हुनेमध्ये ८५ प्रतिशत बिरामी नसर्ने रोगका भएको बताए।
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले जीवनशैली र खानपान लगायतका सानासाना कुराहरुमा ध्यान दिँदा ठूला रोगबाट जोगिन सक्ने बताइन्।