धरान/तामझामका साथ बेहुला अन्माउने लगन चलिरहेको थियो । शुभसाइतका लागि दही पनि खुवाइयो । तर, बेहुलालाई लाने त्यहाँ सुसज्जित कार थिएन् । त्यसको ठाउँमा फूलमालामा सजिएको ‘सिटी सफारी’ थियो । आधाजसो जन्ती साइकलमा थिए । सुन्दा फिल्मको क्लाइमेक्स झै लाग्ने यस्तो बिहे धरान–७ मा सइल श्रेष्ठले शनिबार गरेका छन् । वातावरण संरक्षणका अभियन्ता श्रेष्ठले आफ्नो बिहे साइकलमा गर्ने सोच बनाएका थिए । तर, पारिवारिक बाध्यताका कारण सिटी सफारीमा अन्मिएर उनी बिराटनगर जन्ती लिएर पुगेका थिए । ‘बिहे गर्नको लागि गाडी नै हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर, राम्रो जीवन जिउनको लागि गाडी मात्रै भएर हुदैन् सामान्य सिटी सफारी र साइकलमा पनि गर्न सकिन्छ भनेर सिम्बोलिक रुपमा यो बिहे गरिएको हो ।’ बेहुला भएर अन्मिएका श्रेष्ठले भने । सिटी सफारीमा उनी धरानको तिनकुनेसम्म पुगेका थिए । त्यस्तै साइकलमा सहभागी जन्तीहरु पनि तिनकुनेसम्म साइकलमा पुगेका थिए । साइकलमै बिहे गर्ने सोच बनाएका उनले पारिवारिक दवावका कारण पनि बाध्य भएर गाडी लानु परेको थियो । ‘सिटी सफारीमा जान सकिने नभएर हो । नत्र साइकल तथा सिटीमै जान्थे ।’ उनले थपे । गाडी नै लानु पर्छ भन्ने सोच्नेहरुको लागि उनको बिहे गतिलो झापड बनेको छ । साइकल सिटी नेटवर्क नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठले २०१३ सालदेखि निरन्तर साइकल सिटी बनाउनु पर्छ भन्ने देशव्यापी रुपमा कार्यक्रम चलाइरहेका छन् । उनीहरुको एउटा समूह नै छ । जसले वातावरणलाई जोगाउनको लागि पनि साइकल प्रयोग गर्नुपर्छ भनेर सन्देश प्रवाह गरिरहेको छ । प्रवद्र्धन गरिरहेको छ । विशेष गरी मोटररहित सवारी साधनहरुको प्रवद्र्धन गर्ने उनीहरु मध्ये साइकल सिटीका उपाध्यक्ष सैलेन्द्र डंगोलले पनि रिक्सामा अन्मिएर बिहे गरेका थिए । २०७३ माघमा बिहे गरेका उनले रिक्सामा जन्तीहरु लिएर गएको बताउछन् । ‘हामी संस्थागत मात्रै हैन, व्यक्तिगत रुपमा पनि साइकलको प्रवद्र्धन गर्छौं । सक्ने ठाउँबाट हामी आफैले सुरुवात गरेका छौं । हाम्रो स्तरबाट पनि केही गर्न सकिन्छ भन्ने सन्देश हो यो बिहेको ।’ उनले सिटी सफारीमा बिहेको कारण खुलाउदै भने । उदाहरणीय बनेको उनको बिहे देखेरै पनि अध्यक्ष श्रेष्ठले पनि साइकलमार्फत् नै बिहे गर्ने सोच बनाएका हुन् । ‘साइकलमै जाने भनेर अड्डि कसिरहेको थियो ।’ बेहुलाका दाजू पर्ने सरोज श्रेष्ठले भने, ‘मनाउँदा मनाउँदा सिटी सफारीमा आएर टुंगियो ।’ सिटी सफारीमा बिहे गर्दाको फरक आनन्द भएको आफन्तहरुले बताएका थिए । सिटी सफारीमा बेहुला अन्मिएको देख्दा कतिपय छिमेकीहरु तथा गाउलेहरु पनि अचम्म मानेका थिए । वातावरण संरक्षणको लागि पनि आफ्नो तर्फबाट केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो बिहे गरेको सरोज श्रेष्ठले बताए ।