धरान / पूर्वी नेपालको कोशी र मेचीमा चीन र नेपाललाई जोड्ने दुईवटा महत्वपूर्ण नाकाहरु छन् । तीमध्ये एउटा संखुवासभाको किमाथाङका नाका हो भने अर्को ताप्लेजुङ जिल्लामा पर्ने ओलाङचुङगोला नाका हो ।

यी दुबै नाकाहरु भारत र चीनलाई छोटो दूरीमा जोड्न सकिने महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट हुन् । विराटनगरको रानीसीमामा जोगवनीसँग यी दुबै नाकालाई जोड्न सके पूर्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि पाउन सक्ने मोरङ व्यपार संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

तिव्बतसँगको सीमाना किमाथाङ्कावाट पनि सडक निर्माणको काम अघि वढेको छ रानीबाट धरानसम्मको सडकलाई ६ लेनको बनाउँदा किमाथाङका सडकका लागि यो सहयोगी वन्ने छ ।

जोगवनी नाकादेखि किमाथाङकासम्मको दुरी ३ सय ७६ किलोमिटरमात्रै छ । यो बाटोको ट्रयाक खोल्ने काम अब ४१ किलोमिटरमात्रै बाँकी रहेको छ ।

अबको दुई वर्षभित्र तिब्बतको यो नाकालाई धनकुटा र धरान हुँदै भारतको जोगवनी जोड्ने सरकारी लक्ष्य छ । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ ।